इटहरीः घरबाट बेपत्ता भएको तीन दिनपछि गत कात्तिक २४ गते आफ्नै घरदेखि पूर्वपट्टि रहेको सिंघिया खोलामा अर्धनग्न अवस्थामा मृत भेटिएका बालक निश्चल रायको हत्यारा पत्ता लगाउन दबाबस्वरुप स्थानीयले आज नेमुवामा चक्काजाम गरेका छन् ।
कार्तिक २२ गते अपराहन्न ३ः०० बजेदेखि घरबाट बेपत्ता भएका बालकको शव फेला परेपछि हत्या भएको आशङ्कामा स्थानीयले प्रदर्शनसमेत गरेका थिए । तर हत्यामा संलग्न व्यक्तिको पहिचान गर्न प्रहरीले तदारुकता नदेखाएको भन्दै स्थानीयले आज पुनः प्रदर्शन गरेका हुन् । तीन सातासम्म घटनाको विवरण सार्वजनिक नगरेपछि प्रदर्शन गरेको स्थानीयको भनाइ छ । मृतकका बुबा उपेन्द्रका अनुसार खोलामा शव भेटिए पनि निश्चलको मृत्यु पानीमा डुबेर भएको जस्तो देखिँदैन । घाँटी भाँचिनु, तिघ्रामा डोरीले बाँधेको जस्तो डाम देखिनु, छातीमा जुत्ताको जस्तो डाम देखिनु र पेटमा सियोले रोपिएको जस्ता प्वालहरू देखिएको उनको भनाइ छ ।
उपेन्द्र माओवादी केन्द्रका प्रदेश १ सदस्य तथा मजदुर सङ्गठनका नेता हुन् । राजनीतिक प्रतिशोध र पारिवारिक रिसिइबीका कारणले पनि आफ्नो छोराको हत्या भएको हुनसक्ने उनले बताए । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसी घटनाको अनुसन्धान भइरहेको बताउँछन् । प्रारम्भिक पोस्टमार्टम रिपोर्ट आएको बताउँदै उनले भिसेरा रिपोर्ट आएपछि थप विषय खुल्ने बताए । बालकको कोसी अस्पताल विराटनगरमा पोस्टमार्टम गरी शवको भिसेरा जाँच बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो । मृत्यु भएको लामो समयसम्म अनुसन्धानमा प्रगति नभएपछि स्थानीयले पटकपटक प्रदर्शन गर्दै आएका छन् ।
मङ्सिर ११ गते पनि निश्चललाई न्याय दिलाउन भन्दै आफन्त र स्थानीय सडकमा उत्रिएका थिए । प्रकरणको अनुसन्धान प्रतिवेदन सार्वजनिक नगरिएपछि उनीहरूले बाँच्न पाउने अधिकार सुरक्षित गर, हत्या आरोपीलाई सार्वजनिक गर भन्दै प्रदर्शन गरेका थिए । रायको शङ्कास्पद मृत्यु प्रकरणको छानबिनका लागि प्रहरीले चासो नदेखाएको उनीहरूको आरोप छ । रायको गाउँमा आन्दोलनका लागि बनाइएको सङ्घर्ष समितिले निष्पक्ष छानबिनको माग गर्दै बिहीबार अर्थमन्त्री जनार्दन शर्मालाई ज्ञापनपत्र बुझाएको थियो । प्रहरीले भने निश्चलको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट नदेखिएको जिकिर गरेको छ ।