इटहरीः लामो समयदेखि आईपीओ नखुलेर त्यसको पर्खाइमा रहेका लगानीकर्ताको लागि लामो समयसम्मको लगानीका लागि सिभिल बैंकको ऋणपत्र खुल्ला भएको छ ।

निजी क्षेत्रको वाणिज्य बैंक सिभिल बैंकले आज मंसिर २४ गते शुक्रबारदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ । ऋणपत्रमा लगानी गर्न इच्छुक लगानीकर्ताले प्रतिएकाइ १ हजार रुपैयाँ दरमा ३० लाख एकाइ ऋणपत्र खरिद गर्न सक्नेछन् । बिक्रीका लागि खुलाइएको ३ अर्बमध्ये ६० हजार एकाइ म्युचुअल फन्डहरुलाई छुट्याइएको छ भने ११ लाख ४० हजार एकाइमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् भने बाँकी १८ लाख एकाइ प्राइभेट प्लेसमेन्टमार्फत् बिक्री गर्ने बैंकले जनाएको छ । यस ऋणपत्रमा वार्षिक १०.२५% ब्याजदर पाइनेछ । 

सिभिलले १० वर्ष अवधिको ‘सिभिल बैंक डिबेन्चर २०८८’ जारी गरेको हो । यसमा न्यूनतम २५ एकाइदेखि अधिकतम सबै एकाइका लागि आवेदन दिन सकिनेछ । मंसिर २८ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त अवधिमा सबै एकाइ बिक्री नभएमा भने पुस ९ गतेसम्म खुला रहनेछ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट आवेदन दिन सक्नेछन् । यस ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केटले गरेको छ ।