इटहरीः प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले मानव अधिकार सुक्ष्म विषय भएको बताएका छन् । उनले हामीले गर्ने व्यवहारमा मानव अधिकार जोडिएको बताए ।

७३ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आज विराटनगरमा मानव अधिकार सञ्जाल, इन्सेक, मानव अधिकार रक्षक परिषद् लगायतका संस्थाहरुद्वारा आयोजित कार्यक्रममा मन्त्री यादवले सो कुरा बताएका हुन् । उनले मानव अधिकार क्षेत्रको विकासका लागि आफ्नो साथ सहयोग निरन्तर रहने बताए । मानव अधिकारको क्षेत्रमा लागेका संघ–संस्थालाई प्रदेश सरकारको तर्फबाट पूर्ण सहयोग हुने मन्त्री यादवले बताए । उनले प्रदेश १ लाई मानव अधिकारमैत्री बनाउन चाहेको बताए । मन्त्री यादवले भने,‘ कुनैपनि नागरिक पीडित हुनु नपरोस् भन्ने मेरो चाहना छ, तपाईहरुले यसमा मलाई सल्लाह दिनुस् ।’

Photo 2 1

सामाजिक विकास मन्त्री यादवले मधेस आन्दोलनमा मानव अधिकारकर्मीको भूमिका प्रशंसनीय रहेको उल्लेख गरे । उनले आन्दोलनको समयमा आफू सँधै मानव अधिकारकर्मीहरुसँग संवादमा रहने गरेको पनि स्मरण गरे । कार्यक्रममा मन्त्री यादवले लामो समयदेखि मानव अधिकारको क्षेत्रमा लागेका अधिकारकर्मी दिनेश श्रेष्ठ र सञ्जु साहलाई सम्मान गरेका थिए ।