इटहरीः इटहरीमा अत्याधुनिक बहुजातीय संग्रहालय बन्ने भएको छ ।

इटहरी उपमहानगरपालिकाले निर्माण गर्ने संग्रहालय को इटहरी वडा नम्वर १० मा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले शिलान्यास गरे । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले इटहरी उपमहानगरमा यो अत्यन्तै राम्रो कार्य हुन लागेको बताए । संग्रहालयका कारण यो क्षेत्रमा अरु विकास तानिएर आउने उनको भनाइ छ । लोकसँस्कृतिको जर्गेना गर्ने यो कार्यले भविष्यमा धेरै लाभ हुने उनको विश्वास छ । इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले संग्रहालय तीन आर्थिक वर्षमा सम्पन्न हुनेगरी आएको र यो इटहरीको गौरवको योजना भएको बताए । यो क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले वडा नम्बर १० मा संग्रहालय निर्माण गर्न लागिएको प्रमुख चौधरीले बताए । निक्कै राम्रो र व्यवस्थित डिजाइन गरेर काम थालिएको उनको भनाइ छ ।

sf

इटहरी वडा नम्बर ४ का वडाध्यक्ष चन्द्र भटटराईले यो संग्राहलय इटहरीवासीका लागि गौरव गर्न लायक वन्ने विश्वास व्यक्त गरे । उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर जीवन घिमिरेले संग्रहालयमा विभिन्न जातजाति, धर्म तथा सँस्कृतिका सामग्रीहरु संग्रह गरिने बताए । उनका अनुसार दुई बिघा क्षेत्रफलमा तीन तले भवन निर्माण हुनेछ । त्यहाँ २५ वटा प्रदर्शनी कक्ष हुनेछन । एउटा व्यवस्थित पुस्तकालय, बहुउद्धेश्यीय सभाहल, पार्किङ्ग, फाउण्डेसन, थारु ग्राम लगायतका संरचना निर्माण गरिनेछ ।

१७ करोड १५ लाख ७ हजार ६ सय ७८ रुपैयाँको लागतमा संग्रहालय बन्नेछ । चालु आर्थिक वर्षमा १० करोड बजेट विनियोजन भएकाले यो वर्ष करिब ६० प्रतिशत काम सक्ने योजना छ । शिलान्यास कार्यक्रममा वडासदस्य रामनारायण चोैधरीले स्वागत मन्तव्य व्यक्त गरे । कार्यक्रम वडा नम्बर १० का कार्यवाहक वडाध्यक्ष विषनलाल चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो ।