इटहरीः देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट जोगिन आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

प्रदेश १ सहित मुलकभर न्यूनतम तापक्रम घट्न थालेको छ । यो सँगै चिसो बढेको छ । शुक्रबार बिहान काठमाडौंको न्यूनतम तापक्रम ६ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

यस्तै जुम्लामा –३.७, जोमसोममा –१ डिग्री सेल्सियस मापन गरिएको छ ।

बिहान हुस्सु कुहिरो लाग्ने हुँदा पनि धेरै चिसो महसुस हुने महाशाखाले जनाएको छ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएकाले अबको केही दिन मौसम सफा रहने सम्भावना रहेको छ ।

आज प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा भने मौसम आंशिक बद्ली हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।