काठमाडौँः एक करोड एक लाख ५२ हजार ३८६ बराबरको राजश्व छली गरेको अभियोगमा राजश्व अनुसन्धान विभागले सत्यम् शिवम् कन्सट्रक्सनका सञ्चालकविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।
विभागका अनुसार वस्तु तथा सेवा खरिद नै नगरी नक्कली मूल्य अभिवृद्धि कर विजक मात्र खरिद गरेको आरोपमा सो कम्पनीका सञ्चालकद्वय रामकुमार प्याकुरेल र संगीताकुमारी झाविरुद्ध बिहीबार मुद्दा दायर गरिएको हो ।
कम्पनीले १६ लाख ७७ हजार ३३४ मूल्य अभिवृद्धि कर, आयकरतर्फ २९ लाख ४२ हजार ९८२ र चार लाख ५५ हजार ८७७ गरी कूल ५० लाख ७६ हजार १९३ बराबरको राजश्व चुहावट गरेको पाइएको छ ।
विभागले बिगोको दोब्बर सजायको माग गर्दै मुद्दा दायर गरेको जनाएको छ । -रासस