इटहरीः नियमविपरीत दोस्रो पटक मोरङ जिल्ला कारागार ल्याइएका ‘गुन्डा नाइके’ अभिषेक गिरीलाई कारागार प्रशासनले कारागारको नाइके बनाएको छ । मोरङ कारागार प्रशासनले गिरीलाई चौकीदार सरह काम गर्ने गरी जिम्मेवारी दिएको हो । जेलर महेन्द्रसिंह खड्काले गिरीलाई चौकीदार सरह काम गर्ने गरी जिम्मेवारी दिइएको बताए ।

कारागार विभागले अपहरण तथा शरीर बन्धक मुद्दाका कैदी गिरीलाई कात्तिक १६ गते बिहान ५ः३० बजे विराटनगरस्थित मोरङ जिल्ला कारागार ल्याएको थियो । कारागारमा रहेका कैदीबन्दीहरुले निरन्तर नाराबाजी गर्दै गिरीलाई जेल प्रवेशमा रोक लगाएपछि तत्कालका लागि गिरीलाई सप्तरी जिल्ला कारागार पठाइएको थियो । त्यसको दुई सातापछि मङ्सिर ९ गते पुनः विराटनगर ल्याइका गिरीलाई आज नाइके बनाइएको हो । एक व्यक्तिलाई एउटा कारागारबाट सरुवा गरेपछि सोही कारागारमा नल्याइने परम्पराविपरीत सत्ताधारी दल नेपाली कांग्रेसको दबाबमा गिरीलाई पुनः विराटनगर ल्याइएको स्रोतले बताएको छ । गिरी यसअघि पनि मोरङ कारागारको नाइकेका रुपमा बसिसकेका व्यक्ति हुन् । मोरङ कारागार भित्रबाटै विराटनगरमा गुण्डागर्दी र फिरौति असुली गरेको गुनासो बढेपछि २०७४ साल चैत २३ गते विराटनगरबाट डिल्लीबजार कारागार सरुवा गरिएको थियो ।

तर नेपाली कांग्रेससँग निकट रहेकै आधारमा गिरीलाई पुन विराटनगर सरुवा गर्ने निर्णय भदौ १७ गते भएको हो । गिरीसँगै उनैलाई सहयोग पुग्नेगरी सरकारले अपहरण मुद्दामा कैद भुक्तान गरिरहेका राजु श्रेष्ठ, असित सैंबु र वन मुद्दाका कैदी मनोज काकीलाई पनि विराटनगर सार्ने निर्णय भएको थियो । यद्धपि, गिरीबाहेक अन्य कैदी भने अहिले विराटनगर नआएको मोरङ कारागारका निमित्त प्रमुख रामप्रसाद पोख्रेलले बताए । गिरीको चरम यातनाबाट पहिले नै पीडित बनेका कारागारका कैदीबन्दीहरुले भने उनलाई कारागारमा नल्याउन भनिरहेका छन् । कैदीबन्दीका आफन्तहरुले गिरीको विराटनगर सरुवा रोक्न माग गर्दै आन्दोलनसमेत गरेका थिए ।

यद्यपि, सरकार भने सरुवा स्थगित मात्र गरेर स्थिति साम्य पारी मौका पर्नासाथ गिरीलाई नै नाइके बनाएर पठाउने रणनीति अनुरुप सरकारले गिरीलाई पुनः विराटनगर ल्याएको हो । गिरीलाई विराटनगर ल्याउनकै लागि सरकारले मोरङ कारागारका तत्कालीन चौकीदार (नाइके) नवीन राईलाई असोज १८ गते क्षेत्रीय कारागार झुम्का सरुवा गरेको थियो । तत्कालका लागि राईको ठाउँमा हत्या मुद्दाका कैदी किरण गुरुङलाई चौकीदार नियुक्त गरिएको थियो । नेपाली कांग्रेसको शेरबहादुर देउवा खेमानिकट मानिने गुन्डानाइके गिरीलाई देउवाले नै अर्थोपार्जनको राम्रो स्रोत रहेको मोरङ कारागारमा सरुवा मिलाइदिएको स्रोतको भनाइ छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले भने चौकीदारको जिम्मेवारी दिएको बारेमा आफूलाई जानकारी नआएको बताएका छन् । नौ सय कैदीबन्दी रहेको मोरङ कारागारमा नाइकेले व्यापारबाट दैनिक एक लाखभन्दा बढी आम्दानी गर्ने गरेका छन् । कारागारभित्र बाहिरी बजार मूल्यभन्दा बढी मूल्यमा सामान बिक्री गर्ने गरिन्छ ।