इटहरीः धनकुटाको पाख्रिबास नगरपालिका घर भई सुनसरीको इटहरी उपमहानगरपालिका १३, खनारमा डेरा बस्ने २६ वर्षीय रिजन दाहालको हत्यामा संलग्न मुख्य अभियुक्त पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङको बुढीगंगा गाउँपालिका ६ स्थित डल्लेपुल घर भएका धनबहादुर तामाङ रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । रिजनको हत्या गरी भारतर्फ फरार भएका अभियुक्त तामाङलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले शनिबार राति भारतबाट पक्राउ गरी नेपाल ल्याएको १ नम्बर प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनरजा राईले जानकारी दिए । मोरङको बुढीगंगा गाउँपालिका ६, कोयलपुरमा रिजनको गत कात्तिक २८ गते राति हत्या भएको थियो । खनारकै रिलायन्स धागो उद्योगमा काम गर्दै आएका दाहालको कोयलपुरकै २३ वर्षीय धने भनिने धनबहादुर तामाङ, २४ वर्षीय ईश्वर भनिने लिखमान लिम्बू र सुनसरीको इटहरी–११ का २२ वर्षीय राजु तामाङ लगायत छ÷सात जनाको समूहसँग विवादपछि दाहालको खुकुरी प्रहारबाट हत्या भएको हो ।

टाउकोमा खुकुरी प्रहार भएपछि गम्भीर घाइते भएका दाहाललाई उपचारार्थ अस्पताल लैजाने क्रममा बाटैमा उनको मृत्यु भएको देखिएको छ । हत्यामा संलग्नताको आशंकामा दुई व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएकोमा पछि थप दुई जना गरी चार जना पक्राउ परेका थिए । रिजनको हत्या गरेको अभियोगमा सुनसरी इटहरी उपमहानगरपालिका–११ भागलपुर बस्ने २२ वर्षीय राजु तमाङ, मोरङको सुन्दरहरैचा–७ का २१ वर्षीय विक्रम खड्का, बूढीगङ्गा–६ का २४ वर्षीय ईश्वर लिम्बू, १८ वर्षीय सुदीप उराँव र २० वर्षीय सुदीप उराँव पक्राउ परेका थिए । सोही घटनामा मृतक दाहालका साथी धनकुटा देव्रेबासका २२ वर्षीय कमल थापा र मोरङको बूढीगङ्गा गाउँपालिका –६ कोयलपुर नानु लिम्बू घाइते भएका थिए । घाइते थापा मृतक दाहालसँगै काम गर्ने साथी हुन् । अर्की घाइते नानुको भतिजीको बर्थ डे मनाउन भेला भएका युवाहरुबीच झडप भई हत्या भएको हो ।