इटहरीः विभिन्न राजनीतिक दलहरुले स्थानीय तह र प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनताका मत तान्नका निम्ति जारी गरेका घोषणापत्रहरु हचुवाका भरमा जारी हुने गरेको नेताहरुले स्वीकारेका छन् ।

सम्वाद समूहले आज इटहरीस्थित युवा विकास केन्द्रमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो स्वीकारोक्ति व्यक्त गरेका हुन् । निर्वाचनका बेला मतदातालाई आकर्षित गर्न कुनै पूर्वतयारी तथा आवश्यक अध्ययनबिना नै ठूलाठूला महात्वाकांक्षी योजनाहरु समावेस गरी घोषणापत्र सार्वजनिक गर्दा त्यस्ता योजनाहरु पूरा नभई अलपत्र पर्ने गरेको उनीहरुको भनाइ छ । नेकपा (एकीकृत समाजवादी) पार्टीका इटहरी नगर अध्यक्ष गणेश बुढाथोकीले घोषणापत्र जारी गरेर घोषित योजना कार्यान्वयन नगर्नु बेइमानी भएको बताए । इटहरीमा सञ्चालित इटहरी अस्पतालको स्तरवृद्धिको काम पटकपटक योजनामा परेपनि अस्पतालको सेवा प्रभावकारी नभएको सेवाको प्रभावकारिता वृद्धिका लागि कुन क्षेत्रले के गर्न आवश्यक छ भन्ने विषयमा भएको अन्तरक्रियाका क्रममा उनले संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आफ्नै पार्टीको नेतृत्वमा रहेकाले अस्पतालको स्तरवृद्धिका लागि आफूले समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे ।

इटहरीको विकासका लागि इटहरीकै स्थानीय समुदायले तदारुकता देखाउनुपर्ने भन्दै उनले सुधारको जस जुन पार्टीले लिए पनि सुधारका लागि आफ्नो सहयोग सँधै जारी रहने उल्लेख गरे । आफ्नो पार्टीको नगर कमिटी गठन भएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र इटहरी अस्पतालको समस्याबारे प्रदेश र संघीय सरकारलाई जानकारी दिएको उनले बताए । यसैगरी, नेपाली कांग्रेस इटहरी उपमहानगर सचिव विक्रम घिमिरेले २०७५ सालमा १८ करोडको लागतमा तीनतले भवन निर्माण स्वीकृत भई १५ बेडको अस्पताल सञ्चालनमा आएको बताउँदै उनले आज भवन बनाएर भोलि भत्काउने अदूरदर्शी प्रवृत्तिका कारण विकासको प्रतिफल पाउन समस्या भएको उल्लेख गरे । यसैगरी, इटहरी अस्पतालका प्रशासन प्रमुख राम धमलाले अस्पताल सञ्चालनका लागि नीतिगत व्यवस्था पर्याप्त नभएको बताए । इटहरीमा संघीय वा प्रादेशिक स्तरको अस्पताल आवश्यक रहेको बताउँदै उनले त्यसका लागि यस आर्थिक वर्षको साउनदेखि हालसम्म तीन पटक संघीय सरकारसँग छलफल भएको बताए । हरेक आर्थिक वर्षमा इटहरी अस्पतालका लागि पनि नगर सरकारले बजेट विनियोजन गरिरहेको उनको भनाइ थियो ।