इटहरीः १३ बुँदे इटहरी घोषणापत्र जारी गर्दै लैंगिक हिंसाविरुद्ध तेश्रो इटहरी सम्मेलन सम्पन्न भएको छ ।

इटहरी उपमहानगरपालिकाले प्रत्येक वर्ष लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको समापनका क्रममा इटहरी सम्मेलन गर्दै आएको छ । सम्मेलनमा गत वर्षभर भएका लैंगिक हिंसा विरुद्धका कार्यक्रमको समीक्षा गर्दै एक वर्षका लागि कार्ययोजना तय गरिएको छ । घोषणाापत्रमा इटहरीमा नागरिकता लिनबाट बञ्चित महिला तथा उनीहरुका सन्तानको नागरिकता प्राप्तिका लागि उपमहानगरले सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ । प्रत्येक वडा कार्यलयमा रहेका सामुदायिक मेलमिलाप केन्द्रमा लैंगिक सहायता कक्षको स्थापना गरी महिलामाथि हुने हिंसाका घटनाहरुको सम्बोधनका लागि आवश्यक समन्वय तथा सहयोगको सुनिश्चितता गर्ने कार्यको थालनी गरिने भएको छ ।

1639044134894

यसै आर्थिक वर्षभित्र इटहरी उपमहानगरपालिकामा सुरक्षित स्तनपान कक्ष निर्माण गर्ने र क्रमशः सबै वडा कार्यालयहरुमा यो सेवा विस्तार गर्दै लैजाने नीति अबलम्वन गरिने घोषणा गरिएको छ । कार्यक्रमकी प्रमुख अतिथि पूर्वमन्त्री डा. शिवमाया तुम्बाहाम्फेले महिला हिंसा न्यूनीकरणमा पुरुष सहभागितामा जोड दिएकी छन् । उनले यस्ता अभियानहरु महिलालक्षित मात्र नभई पुरुषलक्षितसमेत हुनुपर्ने बताइन् । संविधानसभा सदस्य अनिता परियारले हालसम्म समाजमा बलात्का र तथा अन्य प्रकृतिका महिला हिंसाका थुप्रै घटना बाहिरिएकाले महिला हिंसा न्यूनीकरणका लागि किशोरी तथा महिलालाई आत्मरक्षा र आत्मसम्मानको सुरक्षा गर्न सक्षम बनाइनुपर्ने बताइन् । नीति निर्माणका हरेक गतिविधिमा महिलाको सक्रिय सहभागिताको वातावरण बनाउनुपर्ने उनको सुझाव थियो । इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले प्रतिवेदन प्रस्तुत गर्दै इटहरीमा लैंगिक हिंसाविरुद्ध १६ दिने विशेष अभियान र वर्षैभरि अभियान सञ्चालन गरिँदै आएको जानकारी दिइन् । इटहरीको वडावडामा गठित प्रतिरक्षा समूह र किशोरी साथी समूहको क्षमता विकासका लागि यो वर्ष उल्लेख्य कार्य गरिएको उनले जनाइन् ।

1639044117587

उनले हिंसापीडित महिलाका लागि उपमहानगरद्वारा सञ्चालित सुरक्षित आवास गृहमा १८६ जना हिंसापीडित महिलाले सेवा लिएको सुनाइन् । उनका अनुसार इटहरीका सबै सामुदायिक विद्यालयमा लैंगिक सम्पर्क व्यक्ति तोकेर छात्रामाथि हुने हिंसा न्यूनीकरणको पहल थालिएको छ । लैंगिक हिंसा न्यूनीकरणका लागि लैंगिक हिंसा न्यूनीकरण कोषको व्यवस्था गरिएको छ । एक वर्षमा इटहरीमा ७ सय ७३ वटा लैंगिक हिंसाका घटना कानुनी दायरामा आएको विवरण उपमेयर गौतमले सुनाइन् ।

262845961_320743342999828_6409653781054332307_n

कार्यक्रममा इटहरी उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख भोजकला दवाडीले स्वागत मन्तव्य व्यक्त गरे । कार्यक्रममा प्रदेश सांसद सर्वध्वज साँवा, संविधानसभा सदस्यद्वय रेवती भण्डारी र अनिता परियार तथा महिला सञ्जाल इटहरीकी अध्यक्ष कमला खड्का, इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्र खड्का र जसपा इटहरी सचिव योशा गुरागाँईले सम्मेलनको सफलताको कामना गरे ।