इटहरीः नेकपा एकीकृत समाजवादीको दलित संगठन नेपाल दलित मुक्ति संगठनले प्रदेश १ कमिटी गठन गरेको छ ।
नेकपा एमाले विभाजन भई नेकपा एकीकृत समाजवादी गठन भएपछि यसको दलित संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज पनि फुटेको हो। एमाले त्यागेर एकीकृत समाजवादीतर्फ आएका मुक्ति समाजका दलितहरूले आफ्नो संगठनलाई नेपाल दलित मुक्ति संगठनको रूप दिएका हुन्।
तीन महिने संगठन पुनगर्ठन तथा पुनर्जागरण अभियानअन्तर्गत प्रदेश १ को कार्यकर्ता भेला मंगलबार इटहरीमा सम्पन्न गरिएको दलित मुक्ति संगठनका केन्द्रीय अध्यक्ष गणेश विश्वकर्माले जानकारी दिए। भेलाले कृष्ण रसाइली (मोरङ) अध्यक्ष रहेको १५१ सदस्यीय प्रदेश कमिटी गठन गरेको छ। जसमा वरिष्ठ उपाध्यक्ष केशर महते (संखुवासभा), उपाध्यक्षद्वय देवीमाया नेपाली (ताप्लेजुङ) र भवीन्द्र विश्वकर्मा (मोरङ), सचिव परशुराम शंकर (झापा), उपसचिवत्रय पीबी दियाली (सुनसरी), सन्तोष सेन्चुरी (पाँचथर) र ज्ञानेन्द्र नेपाली (तेह्रथुम) तथा कोषाध्यक्ष बालकृष्ण तिरुवा (सुनसरी) छन् ।
भेलालाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष गणेश विश्वकर्माले नेकपा एकीकृत समजवादी तत्कालीन एमालेबाट विद्रोह गर्दै पुनगर्ठन गरिएको पुष्पलालकालीन कम्युनिस्ट पार्टीको निरन्तरता भएको दाबी गरे। यसर्थ नेपाल दलित मुक्ति संगठनमा आबद्ध हुन उनले दलितहरूलाई आह्वान गरे। प्रदेश कमिटी गठनपछि बसेको पहिलो बैठकले पदाधिकारी, प्रदेशका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज र जिल्ला अध्यक्ष रहेको ५१ सदस्यीय सचिवालय गठन गर्ने निर्णय गरेको छ।
यस्तै बैठकले १४ वटै जिल्लाका इन्चार्ज पनि तोकेको छ। जसअनुसार ताप्लेजुङमा सन्त बराइली, पाँचथरमा अम्बिका गदाइली, इलाममा कमल गदाल, झापामा उदय बराइली, मोरङमा भवीन्द्र विश्वकर्मा, सुनसरीमा पीबी दियाली, धनकुटामा सूर्य विक, तेह्रथुममा पदम नेपाली, भोजपुरमा गोविन्द विक, संखुवासभामा केशर महते, उदयपुरमा छविधन मोते, खोटाङमा झोलीन्द्र विक, ओखलढुंगामा तिलक लोहनी र सोलुखुम्बुमा मीन रोकायालाई इन्चार्जको जिम्मा दिइएको हो।
नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीसँग कुरा नमिलनेपछि माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका हुन्। योसँगै एमालेको दलित संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज पनि दुई चिरा परेको हो। एकीकृत समाजवादीतर्फ नेपाल दलित मुक्ति संगठन नाम दिई गणेश विश्वकर्माले नेतृत्व गरेका हुन् ।