इटहरीः चिना हेर्नु, हातको रेखाबाट भविष्य हेर्नु प्रायः सामान्यजस्तै भइसकेको छ । समयको बहावसँगै नयाँनयाँ खोज र प्रयोग वर्तमानले खोजेको आवश्यकता हो ।

त्यही आवश्यकतालाई पछ्याउँदैछन् , सुनसरी जिल्ला इटहरी उपमहानगर बस्ने दीपेश बराइली । संघर्षशील सामान्य परिवारमा जन्मेका दीपेशले पनि संघर्षलाई चिनेका रहेछन् जसरी उनको परिवारले संघर्षलाई चिनेको छ । बुबाले सुरु गरेको ग्रिल, ग्यारेज र थ्रेसरको काम गर्ने व्यापारमा दीपेश सहयात्रीजस्तै हुन् । इटहरी उपमहानगरपालिका वडा नंम्बर १६ कान्छि चोकमा रहेको बराहक्षेत्र इन्जिनियरिङ्गका निर्देशक दीपेशका बुवा प्रकाश बराइली संघर्षपछि सफलता पाएका व्यक्तित्व हुन् । हुन त दीपेशले बुवाको जस्तै संघर्ष गरेका छैनन् तर उनको संघर्षको प्रकृति र शैली दुवै फरक छ । हुन त बुवा आमाको चाहना फरक हुन्छ । आफ्नो फैलिँदै गरेको व्यवसायमा छोराले हिसाबकिताब हेर्छ भन्ने चाहना प्रकाशको रहेछ । तर दिपेश नकारात्मक त हुँदै होइनन् तैप्नि आफ्नो क्रियाशीलता सामाजिक क्षेत्रमा भएकाले बाहिर बढी व्यस्त हुँदा रहेछन् ।

dipesh1

दीपेशले साथीसँग मिलेर सरप्राइज दिने एउटा कम्पनी पनि चलाएका रहेछन् । टाढाटाढा बसेका आफन्त र साथीभाइलाई कसैको विशेष दिनमा सरप्राइज दिनको लागि चलाइएको कम्पनीको राम्रो प्रभाव भएपनि कोरोनाको लकडाउनका कारण कम्पनी खस्केको रहेछ । लामो दारी, मलिन आवाज र बोलीमा मिजासिला दीपेश कुनै बेला शुद्ध बोल्न पनि सक्दैनथे । उनकै शैलीमा भन्दा कुकुर भनेर सम्बोधन गर्दा तुतुर हुन्थ्यो रे । तर म बोल्नै क्षेत्रमै आफूलाई सफल बनाउँछु भन्ने अठोट लिएर अगाडि बढेका दीपेश आज धेरैले रुचाएका तालिम सहजकर्ता अर्थात ट्रेनर हुन् । मान्छेले आफँैलाई विश्वास गर्न सक्यो भने मात्र सफलता हासिल गर्न सक्तछ । दीपेशले आफूलाई विश्वास गरेका छन् । आफूले सुरुको दिनमा पाएको दुःखलाई सम्झेका छन् र संघर्षमय जीवनलाई धकेल्दैछन् । आफूले अनुभव नलिएको क्षेत्रमा समेत उनी अगाडि छन् । आफ्नो विवाह नभएपनि दिपेश अभिभावकत्व कसरी निर्वाह गर्नुपर्छ भनेर तालिम दिँदै हिँड्छन् ।

हजारौँ अभिभावकलाई बच्चाको हेरदेख कसरी गर्ने भनेर सिकाउँछन् । सामाजिक क्षेत्रमा समेत उत्तिकै क्रियाशील रहेका दीपेश झुम्का जेसिसमा समेत आबद्ध रहेछन् । नेपाल जेसिसबाट झुम्का जेसिसलाई चिनाएकोमा गत वर्ष दीपेशले लक्ष्मी मेमोरियल अवार्डसमेत पाएका रहेछन् । आवार्डका साथमा पुरस्कारमा पाएको ५ हजार पाँच सयमध्ये ५ सय रुपैयाँ दीपेशले आमालाई दिएर बाँकी ह्याप्पी लाइफले सञ्चालन गरेको पव्लिक स्पिकिङ्गको तालिम लिनमा खर्च गरेछन् । ५ दिनसम्म जुममा सञ्चालन भएको तालिमपछि आफूले अर्को चरणको तालिममा समेत सहभागी हुन पाएको उनले बताए । फ्रि मा आएको पैसालाई पार्टी (भोज) मा खर्च गर्न साथीहरुको आग्राह आएता पनि आफूले त्यो पैसालाई राम्रो कामका लागि सदुपयोग गर्न पाएको दीपेशले हामीलाई सुनाए । त्यही तालिम लिएपछि आफ्नो क्षमतालाई तिखारेर आफैँ तालिम सहजकर्ता भएको पनि उनले हामीलाई सुनाए ।

dipesh2

सुनसरी ग्रिल तथा स्टिल व्यावसायी संघका सदस्यसमेत रहेका दीपेशले युवा पुस्तालाई गलत बाटोमा हिँड्नबाट जोगाउन कसो गर्न सकिन्छ भनेरसमेत तालिमका कार्यक्रमहरु सञ्चालन गर्ने गरेका रहेछन् । आफूले जेसिसमा आबद्ध भएपछि धेरै अनलाइन तालिमहरु लिएको र अझै पनि सिकाइको क्रमलाई निरन्तरता नै दिइरहेको दीपेशले हामीलाई सुनाए । देश पूरै लकडाउन भएको बेला आफूले एक वर्ष त अनलाइन तालिममै बिताएको दीपेश सम्झन्छन् । आफूसँगै जेसिसमा लागेका साथी दीपेश तालिम सहजकर्ता हुँदा आफूलाई खुसी लागेको दीपेशका सहयात्री रामधुनी नगरपालिका वडा नम्बर ५ का गोविन्द आचार्य बताउँछन् । 

इटहरीको विश्व आदर्श कलेजबाट स्नातक सम्मको अध्ययन गरेका दीपेश बौद्धिक व्यक्तित्व मान्छिन् । आफूले जानकारी पाएको हाजिरीजवाफ, वक्तृत्वकलाजस्ता प्रतियोगितामा सहभागी भइरहन्छन् जसले गर्दा हौसला र उत्साह दुवै बढ्ने उनको बुझाइ छ । उमेरको हिसाबले २५ वर्षमा हिँड्दै गरेका दीपेशले हामीसँग नयाँ कुरा सुनाए । दीपेश हस्ताक्षरको अध्ययन गरेर भविष्य हेर्न सक्दा रहेछन् । “हुन त अध्ययन र अनुसन्धान गर्ने कुरा हो सबै मिल्छ भन्ने छैन तर अनुसन्धान गर्दै जाँदा धेरै मिलेको साथीहरुले बताउनुहुन्छ ।” दीपेश भन्दै थिए ।

त्यसैले पनि दीपेशलाई आफ्नो छुट्टै पहिचान बनाउने इच्छा रहेछ । “अरुभन्दा फरक कसरी हुन सकिन्छ भनेर हरपल सोचाइ र अध्ययन गर्दै गर्दा मैले सिग्नेचर एनालाइसिस गर्न थालेको हुँ ।” दीपेश भन्छन् । दीपेशले हस्ताक्षर हेर्ने र त्यसबाट भविष्यमा नराम्रो देखियो भने सिग्नेचर परिवर्तन गर्ने सल्लाहसमेत आफूले दिने गरेको हामीलाई सुनाए । सिग्नेचर एनालाईसिस गर्ने दीपेश नेपालका लागि पहिलो पात्र हुन् । अहिलेसम्म सिग्नेचर एनालाइसिस गर्ने व्यक्ति सार्वजनिक भएका छैनन् । राम्रो नवीनतम कार्यको लागि लागिपरेका दीपेशले सफलताको पहाड चढ्दै जाउन् । हामीले उनलाई शुभकामना दियौँ ।