बराहक्षेत्रः राष्ट्रिय प्रजातन्त्र पार्टीको भर्खरै सम्पन्न एकता महाधिवेशनले १ सय ९९ केन्द्रीय समिति निर्वाचित गरेको छ ।
देशभरका ७६ जिल्लामा (भक्तपुरबाहेक) जिल्ला अधिवेशन सम्पन्न गरिसकेको राप्रपाले ७ वटै प्रदेश अधिवेशन समेत सकाएको छ । ३० वर्षे इतिहास बोकेको दल राप्रपाको उर्वरभूमि भने झापालाई मानिन्छ । कारण राप्रपानिकट पत्रकारको संगठन मिडिया नेपालका संघीय अध्यक्ष गोपाल पौडेल, राप्रपा प्रदेश नं. एकका अध्यक्ष राम थापा, राप्रपाबाट निर्वाचित एकमात्र संघीय सांसद एबम् नवनिर्वाचित पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन झापाबाट प्रतिनिधित्व गर्दछन् । गत एकता महाधिवेशनबाट अध्यक्ष लिङ्देनसहित १ नम्बर प्रदेशबाट १९ सदस्यहरु केन्द्रीय कार्यसमितिमा निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ । जसअन्तर्गत सबैभन्दा बढी मोरङबाट ७ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
मधेसी कोटामार्फत् विराटनगरका पूर्वमेयर समेत रहेका प्रल्हाद साह र दिनेश साह विजयी भएका हुन् भने अम्बिका अधिकारी, गोपाल दाहाल र होमनाथ गौतम खुल्ला पुरुषतर्फ विजयी भएका छन् । मोरङबाटै खुल्ला महिलातर्फ उमा थापा विजयी भइन् । त्यसैगरी, अध्यक्ष लिङ्देनसहित ४ केन्द्रीय सदस्य झापाबाट निर्वाचित भएका छन् । जसमा गोपाल पौडेल, अन्जार आलम र राजेश गिरी खुल्ला पुरुषतर्फबाट विजयी भएका हुन् भने तारामाया राई आदिवासी–जनजातितर्फबाट विजयी भइन् । यसैगरी पाँचथरका सगुनसुन्दर लावती पनि खुल्ला पुरुषतर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन भने खोटाङबाट अर्जुन राई खुल्ला पुरुषबाट विजयी भए ।
त्यस्तै, सुनसरीबाट भने एकमात्र केन्द्रीय सदस्यका रूपमा इनु अधिकारी खुल्ला महिलातर्फबाट विजयी भएको जनाइएको छ । यस्तै, ओखलढुंगाबाट केन्द्रीय सदस्यमा निर्वाचित उमेद्वारद्वय राजेन्द्र गुरुङ र विजयकला राईसमेत आदिवासी –जनजाति समुहतर्फबाट विजयी भएका हुन् । यता, तेह्रथुमका इन्द्र थापा खुल्ला पुरुषतर्फबाट विजयी सदस्य हुन् भने उदयपुरकी पवित्रा गिरी खुल्ला महिलाबाट विजयी केन्द्रीय सदस्य हुन् ।