काठमाडौँः संघीय संसद, संसदीय सुनुवाइ समितिले भारत, संयुक्त अधिराज्य बेलायत र संयुक्तराज्य अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूतको संसदीय सुनुवाइ सुरू गरेको छ ।

सरकारले भारतका लागि शंकर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि श्रीधर खत्रीलाई राजदूतमा प्रस्ताव गरी सुनुवाइका लागि संसदमा पठाएको हो ।

सुनुवाइका क्रममा प्रस्तावित राजदूतले आफ्नो अनुभव, योग्यता, क्षमता, सोच र अवधारणा प्रस्तुत गर्ने र त्यसमा संसदीय समितिलाई चित्त बुझेमा उनीहरूको नाम अनुमोदन हुनेछ । यसअघि समितिको आजको पहिलो बैठकमा प्रस्तावित राजदूतको नाम सिफारिमा समावेशीताको प्रश्न उठाएर उजुरी गर्ने उज्वलकृष्ण श्रेष्ठसँग छलफल गरिएको थियो ।

उनीहरू तीनै जनाको संसदीय सुनुवाइका लागि यसअघि बोलाइएको बैठक आवश्यक गणपूरक संख्या न्यून भएपछि स्थगन भएको थियो ।

ती मुलुकमा यसअघि रहेका राजदूत नीलाम्बर आचार्य, युवराज खतिवडा र लोकदर्शन रेग्मीलाई फिर्ता बोलाएपछि त्यहाँ नेपाली राजदूत खाली रहँदै आएको छ ।

समिति सभापति लक्ष्मणलाल कर्णले तीनै जना प्रस्तावित राजदूतको सुनुवाइ आजै सम्पन्न हुने जानकारी दिए । राजदूतको संसदीय सुनुवाइको सुरूआत बेलायतका लागि प्रस्तावित राजदूत आचार्यबाट भएको छ ।  -रासस