इटहरीः दक्षिण अफ्रिकामा फेला परेको कोरोना भाइरसको कडा प्रकृतिको उत्परिवर्तित भेरियन्ट ओमिक्रोन नेपालमा पनि फेला परेको छ ।

सोमबार २ जनामा ओमिक्रोनको संक्रमण देखिएको संघीय सकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ओमिक्रोनको विस्तार दर आक्रामक भएकाले यसले संक्रमण धेरै बढ्ने र अहिलेका खोपहरूले काम नगर्ने चिन्ता थपेको छ । विश्व स्वास्थ्य संगठनले ओमिक्रोनलाई ‘भेरियन्ट अफ कन्सर्न’ घोषित गरेको छ । पहिलो पटक २४ नोभेम्बर २०२१ मा दक्षिण अफ्रिकामा पुष्टि भएको ओमिक्रोन भेरियन्ट विश्वका ३५ देशहरुमा फैलिसकेको जानकारी प्राप्त भएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

यी देशहरुमा आजको मितिसम्म ५७४ जना ओमिक्रोन भेरिएन्ट संक्रमित देखिएका छन् । नेपालले अन्तरराष्ट्रिय हवाई तथा स्थल नाकाहरूमा यात्रुहरूको आवतजावतलाई व्यवस्थित गर्न सबै यात्रुको नेगटिभ पीसीआर रिपोर्ट अनिवार्य गरेको, खोपको विवरण लिने गरेको, लक्षण तथा चिन्हहरूको जाँच गर्ने व्यवस्था गरेको तथा हवाई र स्थल नाकाहरू भई प्रवेश गर्ने पूर्ण मात्रा खोप नलगाएका र शंकास्पद सबै यात्रुहरुको एन्टिजेन परीक्षण गर्ने गरिएको मन्त्रालयले जनाएको छ ।

मङ्सिर ३ गते नयाँ भेरिएन्ट पुष्टि भएको देश हुँदै एक ६६ वर्षीय विदेशी नागरिक नेपालको त्रिभुवन अन्तरर्राष्ट्रिय हवाई नाका प्रयोग गरी नेपाल प्रवेश गरेका थिए । नेपाल आउँदा नियमानुसार पीसीआर रिपोर्ट नेगेटिभ तथा खोपको मात्रा पुरा गरेको पाइएको थियो । उनीसँग नजिकको सम्पर्कमा आएका एक ७१ वर्षी व्यक्ति र स्वयं आफैलाई मङ्सिर ७ गते कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षणहरु देखिएपछि परीक्षण गर्दा कोभिड–१९ को नतिजा पोजिटिभ आएको थियो । कोभिड १९ परीक्षणमा पोजिटिभ आएकाहरुको एस जीन परीक्षण गर्नुपर्ने हालको नयाँ रणनीतिअनुरुप परीक्षण गर्दा दुवै जनाको नमुनामा एस जीन फेला परेको थिएन ।

एस जीन फेला नपरेका उक्त दुवै नमुनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु (एनपीएचएल) मा जीन सिक्वेन्सिङ गर्दा मिति २०७८ मङ्सिर १९ गते राति कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोन नेपालमा पहिलो पटक पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ । ओमिक्रोन भाइरसको संक्रमणबाट बच्न स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न मन्त्रालयले अपिल गरेको छ ।