इटहरीः नेपाली कांग्रेसको प्रदेश १ को सभापतिमा उद्धव थापा निर्वाचित भएका छन् । शाहीकालमा गणतन्त्रको नारा लगाउँदा पक्राउ परेका गुरुराज घिमिरेलाई हराउँदै थापा निर्वाचित भएका हुन् ।
कांग्रेसको निर्वाचन समितिका अनुसार विजयी थापाले ८४४ मत प्राप्त गरे भने घिमिरेले ८४२ मत ल्याए । सुरुदेखि अग्रता लिइरहेका घिमिरेलाई अन्तिम परिणाम आउँदा थापाले मात्र २ मतले पछाडि पारे र विजयी भएका हुन् ।
केन्द्रमा राजनीति गर्दै आएका घिमिरे प्रदेश सभापति बन्न आउँदा जुनियर नेता थापाले बाजी मारेका हुन् । झापा जिल्लाको निवर्तमान सभापति रहेका थापाले केन्द्रीय सदस्य तथा नेविसंघका पूर्वअध्यक्ष घिमिरेलाई हराएका हुन् ।
राजनीतिक हिसाबमा जुनियर मानिएका सँस्थापन समुहका उद्धव थापासँग २ मतको अन्तरले मात्र घिमिरे पराजित भएका हुन् ।
राजिवको ठाउँमा उठेका थिए गुरु !
नेपाली कांग्रेसको सँस्थापनइतर समुहबाट राजिव कोइराला प्रदेश १ को सभापतिमा लगभग उठ्ने निश्चित थियो । कांग्रेस प्रदेश १ का संसदीय दलको नेतासमेत रहेका कोइराला कांग्रेस भित्रको रामचन्द्र पौडेल समुहसँग नजिक हुन् । त्यसैले इतर समुहबाट प्रदेश सभापति उठ्नु स्वभाविक पनि थियो ।
त्यसैअनुसार कोइरालाले पनि सभापतिको लागि आफ्नो प्रचार सुरु गरेका थिए । तर, एक्कासी केन्द्रीय स्तरमा राजनीति गर्दै आएका गुरु घिमिरेको चर्चा सुरु भयो । कांग्रेसले प्रदेश कमिटीलाई शक्तिशाली बनाएपछि केन्द्रीय राजनीति गर्दै आएकाहरुको समेत चासो भयो ।
केन्द्रीय पदाधिकारीमा भिड्ने छ्नक पाएपछि पौडेल समुहलाई घिमिरेको व्यवस्थापन गर्नु थियो । पदाधिकारीमा एक आकांक्षी घटाउँदासमेत पौडेल समूहमा ठुलो उपलब्धि हुने अवस्था थियो ।
त्यसैले पौडेल समुहले घिमिरेलाई अन्तिम समयमा उमेद्वार बनायो । भोट माग्न थालेका सुनसरीका जिल्ला सभापतिसमेत रहेका राजिव कोइरालालाई मुख्यमन्त्रीको आश्वासन देखाएर ब्याक गराइएको थियो ।
मुख्यमन्त्रीको आश्वासन दिएर कोइरालालाई ब्याक गराएपनि पौडेल समुहका गुरु घिमिरे निर्वाचनमा भने पराजित भए ।
गुरुको इतिहास
नेविसंघको राजनीति गरेका गुरु घिमिरे २०५९ मा केन्द्रीय अध्यक्ष बनेका थिए । २०५७ सालमा विश्वप्रकाश शर्मा अध्यक्ष बनेका थिए । त्यसपछि लगत्तै २०५९ सालको नेविसंघको नवौँ महाधिवेशनबाट घिमिरे अध्यक्ष बनेका थिए ।
घिमिरेले नेविसंघको सभापतिमा मात्र सिमित थिएनन् । गणतन्त्रको नारा लगाउनसमेत कांग्रेसलाई लिड गरेका थिए । २०६२÷६३ सालको आन्दोलनमा गणतन्त्रको नारा लगाउँदा नेविसंघको नेतृत्व गरेका थिए ।
घिमिरे नेविसंघको सभापति हुँदा गगन थापा महामन्त्री थिए । १ पुस ०६० को साँझ गुरुराज घिमिरे, गगन थापा र पुरुषोत्तम आचार्यलाई राजद्रोहको अभियोग लगाइएको थियो ।