इटहरीः तेह्रथुम जिल्ला कारागारमा नाइके र कैदीबन्दीबीच झडप भएको छ ।

गएराति कैदीबन्दी र नाइकेबीच झडप भएकोमा प्रहरीले स्थिति सामान्य पारेको थियो । सोही झडपको कारणबारे जानकारी लिन कारागार प्रशासन र जिल्ला प्रहरी कार्यालयको टोली आज कैदीबन्दीसँग छलफलमा जुटेको छ । नाइके र कैदीबन्दीबीच झगडा भएको प्रारम्भिक सोधपुछबाट थाहा भएको निमित्त जेलर हरिकृष्ण ढकालले बताए ।

झगडामा उत्रिएका दुवै पक्षलाई छलफलमार्फत् सहमतिमा ल्याइने उनको भनाइ छ । पछिल्लो समय देशका विभिन्न कारागारहरुमा कैदीबन्दी र नाइकेबीच झडपको क्रम बढेको छ । झडपका विषयमा भने प्रायः सबै कारागार प्रशासनले अनभिज्ञता प्रकट गर्ने गरेका छन् । हरेक कारागारमा आफूहरुमाथि नाइकेले ज्यादति गर्ने गरेको त्यहाँका कैदीबन्दीले बताउने गर्छन् । केही समयअघि विराटनगरस्थित मोरङ कारागारमा पनि नाइके र कैदीबन्दीबीच झडप भएको थियो ।