इटहरीः नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्रदेश नम्बर–१ को सभापति पदमा उमेद्वारी दिई पराजित भएका गुरुराज घिमिरेले पुनः मतगणनाको माग गरेका छन् ।

मतगणनामा धाँधली भएको भन्दै उनले पुनः मतगणना गर्न माग गरेका हुन् । उनले पुनः मतगणनाका लागि केन्द्रीय निर्वाचन र प्रदेश निर्वाचन समितिमा निवेदन दिएका छन् । ‘यो चित्तबुझ्दो मत परिणाम होइन,’ उनले भने, ‘मैले निर्वाचन समितिमा पुनः मतगणनाका लागि उजुरी हालेको छु ।’ उनले निर्वाचन समितिलाई निवेदन दिएर पुनः मतगणना गर्न माग गर्दै भने, ‘पुनः मतगणनाको अन्तिम मत परिणाम नआउन्जेल निर्वाचन समितिलाई कुनै कार्यक्रम अघि नबढाउन आग्रह छ ।’

रामचन्द्र पौडेल पक्षका उमेद्वार घिमिरे आफ्ना प्रतिस्पर्धी कृष्णप्रसाद सिटौला तथा सभापति शेरबहादुर देउवा पक्षका उमेद्वार उद्धव थापासँग दुई मतले पराजित भएका थिए । थापा आठ सय ४४ मत ल्याएर विजयी भए भने घिमिरेले आठ सय ४२ मत ल्याई हार व्यहोरे । दुई मतको झिनो अन्तरले हारेपछि घिमिरेले मतपरिणाम अस्वीकार गर्दै पुनः मतगणनाको माग गरेका हुन् ।