इटहरीः नेपाली कांग्रेसको प्रदेश १ सभापतिमा उद्धव थापा विजयी भएका छन् ।
थापा आठ सय ४४ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी गुरुराज घिमिरेले आठ सय ४२ मत पाए । थपाले घिमिरेलाई दुई मतको झिनो अन्तरले पराजित गरेका हुन् । पार्टी नेता कृष्णप्रसाद सिटौला समूहका थापालाई पार्टी संस्थापन पक्षको समर्थन थियो । झापाको अर्जुनधारा नगरपालिकाका बासिन्दा थापा नेपाली काङ्ग्रेसका पुराना कार्यकर्ता हुन् । कृष्णप्रसाद सिटौला पक्षमा रहेका उनी पार्टी राजनीतिमा सफल छन् । झापाका नेता तथा काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्मासँग लाइन संघर्ष भएपनि सिटौलाको संरक्षणमा उनले आफ्नो प्रभाव जमाइरहेका छन् । सिटौला र देउवाको संरक्षणमा उनी प्रदेश १ को पहिलो सभापति निर्वाचित भए ।
२०३४ मा विद्यार्थी राजनीति हुँदै काङ्ग्रेसमा प्रवेश गरेका थापा झापा जिल्लाको दुई कार्यकाल सभापति बने । २०३५ सालको जनमत सङ्ग्रहमा पञ्चायती व्यवस्थाविरुद्व चलेको प्रचार अभियानमा उनी काङ्ग्रेस नेता बिपी कोइरालाको सुरक्षा दस्तामा सहभागी थिए । थापाले वाणिज्यशास्त्रमा स्नातक उत्तिर्ण गरेका छन् । घिमिरे पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट हुन् । सभापतिसहित उपसभापति, एक महामन्त्री र महिला सहमहामन्त्रीमा संस्थापन पक्ष विजयी भएको छ ।
संस्थापनइतर पक्षबाट एक महामन्त्री र दुई सहमहामन्त्री विजयी भएका छन् । प्रदेशका १४ जिल्लामा संस्थापनइतर पक्षसँग एक सयभन्दा मत बढी थियो । त्यसमा झापाबाट विश्वप्रकाश शर्माको टिमले समर्थन गरेको थियो । झापामा शर्माको समर्थन पाएपनि मोरङ, सुनसरीमा कोइराला पक्षको भोट काटिएपछि प्रदेशको नेतृत्व गर्नबाट घिमिरे पराजित भए ।