इटहरीः सुनसरीको इटहरी २ स्थित संगीत साधना प्रतिष्ठान नेपालको प्राङ्गणमा मङ्सिर २१ गतेदेखि २३ गतेसम्म त्रि दिवसीय साधना संगीत उत्सव हुने भएको छ ।

प्रतिष्ठानको २८ औँ वार्षिकोत्सवका अवसरमा आयोजना हुन लागेको उत्सवको मुख्य आकर्षण वृन्दवादना (अर्केस्ट्रा) प्रस्तुति रहने प्रतिष्ठानका महासचिव राजु केसीले जानकारी दिए । उनका अनुसार २१ गते बिहान ११ः०० बजेदेखि अन्नपूर्ण च्याम्बर अर्केस्ट्रा र नारायणगोपाल संगीत कोष काठमाडौँका ३५ जना वाद्यवादकको समूहले अर्केस्ट्रा प्रस्तुति दिनेछन् । दोस्रो दिन बिहान ११ः०० बजेदेखि १ः०० बजेसम्म पूर्वका ख्यातिप्राप्त साहित्यकारहरुको प्रत्यक्ष प्रस्तुति सहितको साहित्य उत्सव रहनेछ । सोही दिन अपराहन्न ४ः३० बजेदेखि ७ः३० बजेसम्म अर्केस्ट्रा प्रस्तुति रहनेछ ।

262993452_266712885329331_5544482030824025827_n

तेस्रो तथा अन्तिम दिन २३ गते अपराहन्न ४ः३० बजेदेखि राति ८ः०० बजेसम्म स्वरसम्राट नारायणगोपालको ३१ औँ पुण्य तिथिको अवसरमा नारायणगोपाल सांगीतिक साँझ आयोजना हुनेछ । उक्त अवसरमा नेपालका चर्चित गायकगायिकाहरु यम बराल, भीषण मुकारुङ, जिना रसाइली लगायतको प्रत्यक्ष प्रस्तुति रहनेछ । पहिलो दिनको कार्यक्रममा प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादव, दोस्रो दिन आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो र तेस्रो तथा अन्तिम दिन मुख्यमन्त्री राजेन्द्र राई प्रमुख अतिथिका रुपमा सहभागी हुने आयोजकले जनाएको छ ।