बराहक्षेत्रः सत्तारुढ दल नेकपा माओवादी केन्द्रको इटहरी उपमहानगर अधिवेशनले बहादुरसिंह तामाङ (ज्वाला) लाई अध्यक्षमा निर्वाचित गरिनसक्दै अर्कोतर्फ समानान्तर कमिटी गठन भएको छ ।
ज्वाला तामाङसँग प्रतिस्पर्धाको मैदानमा रहेका अर्का अध्यक्षका प्रत्यासी डम्बर काफ्ले (राजन) समुहले समानान्तर कमिटी गठन गरेको हो । आफूहरु मतदानमा जान तयार नहुँदै गर्दासमेत केन्द्रीय सदस्य एवम् सुनसरी जिल्ला इन्चार्ज एकचन्द्र बराल (निर्मल) र सहइन्चार्ज शिव डाँगीले आफूखुसी गर्दै जबर्जस्ति निर्वाचन गराएको अध्यक्षका प्रत्यासी राजन काफ्लेको आरोप छ । उनका अनुसार जिल्ला इन्चार्ज बराल र निर्वाचन मण्डलका अध्यक्षसमेत रहेका डाँगीले ज्वालाका लागि भोट मागिदिएका हुन्, जुन पार्टीको विधानविपरीत कार्य हो । नवनिर्वाचित अध्यक्ष तामाङको कमिटीमा मजदुर, दलित, युवा कसैको प्रतिनिधित्व नरहेको हुँदा उक्त कमिटीको वैधानिकतामै प्रश्न चिह्न रहेको काफ्लेको भनाइ छ ।
‘निर्वाचन वैधानिक हुनका लागि तीन अध्यक्षका उमेदवारको मुचुल्का चाहिन्छ ।’ काफ्लेले भनेका छन्, ‘मणिराम गिरी र मैले निर्वाचनमा हस्ताक्षरसम्म नगरी बहिष्कार गरेर हिँड्यौँ ।’ ४३ सदस्यको हस्ताक्षरसहित समानान्तर कमिटी गठन भएको काफ्ले समुहले जिकिर गरेको छ । यता, नवनिर्वाचित अध्यक्ष ज्वाला तामाङले काफ्ले समुहलाई मतदानको परिमाण स्विकार्न गाह्रो मात्र भएको बताएका छन् । काफ्ले समुहले लगाएको आरोपबारे खण्डन गर्दै उनले भने, ‘राजन काफ्ले समुहले समानान्तर कमिटी गठन गर्नुभएको छैन, प्रोपागान्डा मात्र हो । काफ्ले समुहले समानान्तर कमिटी गठन गरेको छ भने उहाँहरुलाई त्यसो नगर्न नगर कमिटी आग्रह गर्छ ।’
त्यसैगरी, ज्वाला तामाङको लागि मत मागेर निर्वाचनमा धाँधली गरेका भनिएका निर्मल बरालले निर्वाचनको प्रक्रियामा पार्टी गइसकेपछि कतै झुकाव हुने कुरा सामान्य भएको प्रतिक्रिया दिएका छन् । बरालले भनेका छन्, ‘राजन काफ्लेले आफू मतदानमा नगएपनि आफ्नो प्रतिनिधि पठाएर मतदान गराउनुभयो, पछि मतपरिमाण स्वीकार्न नसकेपछिको अवस्था अहिले देखापर्यो ।’ उनी थप्छन्, ‘गिरी आफैसँग रिसाएर भाग्नुभयो ।’ जिल्ला इन्चार्ज समेत रहेका बरालले काफ्ले जत्तिको व्यक्तिलाई पार्टीले उचित स्थान दिने प्रतिबद्धता जनाए । इटहरी उपमहानगर पार्टी कार्यालयमा शुक्रबार सम्पन्न मतदानबाट भारी मतान्तरले तामाङ अध्यक्षमा निर्वाचित भएका हुन् । यो उनको दोस्रो कार्यकाल हो । तामाङले ६३ मत ल्याई विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी डम्बर (राजन) काफ्लेले ६ मत प्राप्त गरी पराजित भए । यसैगरी, उपाध्यक्षमा ज्ञान किराँती, रितेश श्रेष्ठ र कविन्द्र केसी विजयी भएका थिए ।
यसैगरी, सचिव पदका लागि भएको मतदानमा प्रभात आचार्य विजयी भए भने सहसचिव पदका लागि भएको मतदानमा शुशीला उप्रेती विजयी भइन् । यसैगरी, कोषाध्यक्षमा दीपनारायण चौधरी विजयी भएका थिए । ८१ मत रहेको इटहरीमा ९५ प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ । ज्वाला तामाङको टिमलाई बहिष्कार गर्दै काफ्ले समुहले समानान्तर कमिटी गठन गरेपछि दुवैथरीलाई बधाइ दिनेको लर्को देखिएको छ । एकथरीले ज्वाला तामाङलाई इटहरी नगर कमिटी अध्यक्षको रूपमा बधाइ दिइरहेका छन् भने अर्कोथरीले समानान्तर कमिटी अध्यक्ष भनेर राजन काफ्लेलाई बधाइ दिइरहेका छन् । यस सन्दर्भमा सन्तोष थारुले भने समानान्तर कमिटी गठन भएकोबारे आफू अनभिज्ञ रहेको बताएका छन् ।