इटहरीः एउटै धितो देखाएर बिभिन्न बैँक तथा वित्तीय सँस्थामा कर्जा माग्ने १६ हजारभन्दा बढी ऋणीलाई कर्जा सूचना केन्द्रले कालो सूचीमा राखेको छ ।

 नेपाल सरकार मागतहको कर्जा सूचना केन्द्रले एउटा बैंक तथा वित्तीय सँस्थामा ऋण लिएर फेरि अर्को वित्तीय सँस्थामा कर्जाका लागि आवेदन दिँदा ऋणको विवरण हेरी कर्जा आवेदन गर्ने व्यक्तिलाई कालो सूचीमा राखेको हो । आर्थिक वर्ष २०७८ असार सम्ममा कर्जा सूचना केन्द्रले १६ हजार ९ सय ८७ जनालाई कालो सूचीमा सूचीकृत गरेको छ । २०७७ असार मसान्त सम्ममा १२ हजार २ सय ९१ जना ऋणीलाई कालो सूचीमा सूचीकृत गरेको कर्जा सूचना केन्द्रले गत आर्थिक वर्षमा अन्य ४ हजारभन्दा बढी ऋणीलाई थप गरेर १६ हजार ९ सय ८७ जनालाई कालो सूचीमा सूचीकरण गरेको जनाएको छ ।

बैंक तथा वित्तीय सँस्थाले कर्जा आवेदन दिएका व्यक्ति तथा सँस्थालाई कर्जा दिनुभन्दा पहिला अनिवार्य कर्जा सूचना केन्द्रमा सम्पर्क गरेर ऋणीले पहिले कहीँकतैबाट ऋण लिए नलिएको विवरण लिनुपर्ने व्यवस्थाअनुरुप कर्जा सूचना केन्द्रले विवरण राख्ने गरेको छ । यसरी एक पटक ऋण लिएको ऋणीले सोही धितोमा सोको मूल्याङ्कनभन्दा बढी कर्जा लिन सक्ने र ऋण तिर्न समस्या पर्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले कर्जा दिनुअघि अनिवार्य कर्जा सूचना केन्द्रबाट ऋणीको विवरण बुझ्नुपर्ने व्यवस्था गरेको छ ।

आर्थिक वर्ष २०७७ ७८ मा २७ वाणिज्य बैंक, १८ विकास बैंक, १७ वित्तीय कम्पनी र ७० वटै लघुवित्त वित्तीय सँस्थाले ५२ लाख ८४ हजार ३ सय ६१ कर्जाको सूचना माग गरेका थिए । हालसम्म कर्जा सूचना केन्द्रले कालो सूचीमा सूचीकृत गरेका ऋणीको संख्या १६ हजार ९ सय ८७ पुगेको नेपाल राष्ट्र बैंकले बताएको छ ।