बराहक्षेत्रः नेकपा माओवादी केन्द्र बराहक्षेत्र नगरको अध्यक्ष पदका लागि गणेश पाण्डे र कमलबहादुर कटवालबीच प्रतिसपर्धा हुने पक्कापक्की भएको छ ।

 आज (शनिबार) भएको प्रथम अधिवेशनले अध्यक्ष पदको लागि सहमतिको खाका कोर्न नसकेपछि चुनाव हुन लागेको निर्वाचन समितिका अध्यक्ष अच्युत भट्टराईले बताए । भट्टराईका अनुसार ६५ सदस्यीय रहने नगर कमिटीका ५८ सदस्यहरु सर्वसम्मत निर्वाचित भएका छन् भने ७ पदाधिकारीका लागि चुनाव हुनेछ । मतदानका लागि आज चुनिएका ६५ सदस्यहरुमध्येबाट पदाधिकारी उमेद्वार हुनेछन् भने मतदातासमेत तिनै सदस्य हुनेछन् ।

’अहिलेसम्म पाण्डे र कटवालले अध्यक्ष पदको लागि इच्छा गरेको देखिन्छ ।’ निर्वाचन संयोजक भट्टराईले भने, ’अरु थपिन पनि सक्नुहुन्छ तर औपचारिक मनोनयन दर्ता भएको छैन ।’ ६५ सदस्यीय समितिले सकेसम्म सहमतिको प्रयास गर्नेछ, अन्यथा सोही समितिले छिट्टै नै चुनावको मिति तय गरेर अघि बढ्ने बुझिएको छ । त्यस्तै, अन्य ६ पदाधिकारीको लागि समेत चुनाव हुने बताइएको छ । अध्यक्ष पदका दुवै उमेद्वार भनिएका नेताद्वय पाण्डे र कटवालले भने आफूहरू चुनावमा जान तयार रहेको प्रष्ट्याएका छन् ।

प्रथम नगर अधिवेशनको औपचारिक कार्यक्रममा वर्तमान नगर अध्यक्ष कटवालको सभापतित्व, माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् सुनसरी जिल्ला इन्चार्ज एकचन्द्र बराल (निर्मल)को प्रमुख आतिथ्य रहेको थियो । त्यस्तै, प्रदेश सदस्यद्वय उमिता विश्वकर्मा (रिमा), नगेन्द्र बस्नेत, मुक्साहाङ मेन्याङ्बो, जिल्ला सदस्य पुष्प ढुंगाना लगायतका नेताहरुको उपस्थिति थियो ।