भद्रपुरः विगतमा महामारीकै रुपमा देखिएकोे डेंगु रोग यसपाली पनि जिल्लामा देखा परेको छ । जिल्लाको दुईवटा पालिकामा मात्र नौ जना डेंगुका विरामी फेला परेका छन् ।

विर्तामोड नगरपालिकामा पाँच जना र मेचीनगर नगरपालिका क्षेत्रभित्र चार जना फेला परेको पालिकाको स्वास्थ्य शाखाको तथ्याङ्कमा देखिएको छ । हाल उनीहरु विर्तामोडमा रहेको विर्तासिटी हस्पिटल र मनमोहन अस्पतालमा उपचारपछि घर फर्किएका छन् । मनमोहन अस्पतालका डा. शुवेश शौरवले दश दिनको अन्तरालमा अस्पतालमा १० जना डेंगु रोगीको उपचार भएको बताए ।

विर्तामोड नगरपालिका स्वास्थ्य शाखाका डेंगु रोग फोकल पर्सन तुलसी पोखरेलका अनुसार वडा नम्बर ४ को रमाइलो टोलस्थित सिदार्थ होटल आसपास क्षेत्रमा बढी डेंगुको संक्रमण देखिएको छ । उनले विशेषगरी विभिन्न क्षेत्रमा काम गर्ने मजदूरहरुमा डेंगुको संक्रमण देखिएको बताए । डेंगु रोगी देखिए लगत्तै घरदैलोमार्फत नगर क्षेत्रमा डेंगू रोग लाग्ने लार्भा नष्ट गर्ने अभियानमा स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरु सक्रिय रुपमा लागि परेको बताए ।

त्यसैगरी, मेचीनगर नगरपालिकाको वडा नम्बर १०, ६ र ८ मा मात्र चार जना डेंगुका विरामी फेला परेका थिए । पालिकाको स्वास्थ्य शाखाकी डेंगु फोकल पर्सन सविता सापकोटाले छिटफुटमा डेंगुका संक्रमित देखिएँसगै नगरपालिकाले लामखुट्टेबाट हुने डेंगू रोग नियन्त्रण तथा रोकथामका लागि सचेतनासहितको अभियान धमाधम गरिरहेको बताइन् । उनले विगतमा भदौ असोज महिनामा मात्र देखिने यो रोग यसपाली मङसिर महिनामा बढी देखिएको बताइन् ।

पोथी जातका लामखुट्टेले स–साना सफा पानी जमेका स्थानमा फुल पार्ने गर्दछ । सो जमेको पानीको पहिचान गर्दै सबै पालिकाकाहरुले डेंगूको लार्भा नष्ट गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख योगेन्द्र घिमिरेले बताए । उनका अनुसार भद्रपुर, दमक, विर्तामोड, अर्जुनधारा, मेचीनगर नगरपालिका र कमल गाउँपालिका, बुद्धशान्ति गाउँपालिकामा अभियान सञ्चालन भइरहेको छ । उनले तराईको जिल्ला भएका कारण झापा डेंगु रोगको उच्च जोखिममा पर्ने बताए ।

उनले नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले स्थानीय तहलाई स्वास्थ्य सम्बन्धी काम गर्ने अख्तियारी प्रदान गरेकाले हाल आवश्यक परेको बेला स्वास्थ्य कार्यालयले प्राविधिक सहयोग मात्र गर्ने सक्ने बताए । कार्यालयसँगै डेंगु रोगीको तथ्याङ्क समेत नभएको बुझिएको छ । उनले भने,“पालिकामै बजेट आउँछ, सचेतनामूलक कार्यक्रम पालिकले नै गर्छन् । उनीहरुले दिएको विवरणको आधारमा कार्यालयमा तथ्याङक राखिन्छ । ठ्याक्कै भन्न सकिन ।”

झापामा दुई बर्ष अघि डेंगु रोगकै कारण पाँच सय विरामी भएका थिए भने आधा दर्जन बढीको मृत्यु जिल्ला जनस्वास्थ्य कार्यालय झापाको तथ्याङ्कमा देखिएको छ । ड्रम, फुलदानी, गमला, कुलर, पानीका ट्यांकीहरूमा डेंगूको लार्भा भेटिने गरेकाले त्यस्ता सामग्री प्रयोग भएको स्थानमा गएर लार्भा नष्ट गर्न काम पालिकाहरुले गरिरहेको उनको भनाई छ । -रासस