इटहरीः सुनसरीको रामधुनी नगरपालिकाभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुले अपाङ्गतामैत्री नगर घोषणा गर्नुपर्ने माग अघि सारेका छन् ।

तीसौँ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा शुक्रबार रामधुनी नगरपालिकाको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा बोल्दै अपाङ्गता भएका व्यक्तिहरुले सो माग गरेका हुन । नेपाल अपाङ्गता नगर समिति रामधुनी नगरको आयोजनामा भएको कार्यक्रमको सुरुमा अपाङ्गता भएका व्यक्तिहरुका साथमा नगरपालिकाका प्रमुख, उपप्रमुखका साथै प्रमुख प्रशासकीय अधिकृत सहितले नगर परिक्रमा गरेका थिए ।

pwd 2

कार्यक्रममा ‘हाम्रो प्राथमिक आधार, अपाङ्गता भएका व्यक्तिको अधिकार’ लेखिएको पर्चा बोकेका विभिन्न अपाङ्गता भएका पुरुष तथा महिलाहरुको सक्रिय सहभागिता थियो । विभिन्न पर्चा र पम्प्लेट बोकेका अधिकांशले ‘अपाङ्गतामैत्री नगर घोषणा गर’जस्ता चर्का नाराबाजी र भाषण गरेका थिए । नगर परिक्रमापछि नगरपालिकाको प्राङ्गणमा भेला भएर कार्यक्रमलाई औपचारिकतामा लगिएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा नगर प्रमुख जयप्रकाश चौधरी, विशेष अतिथिको रुपमा उपप्रमुख सविना चौधरी तथा प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर थापा, करुणा नेपालका कार्यक्रम संयोजक र राजनीतिक पार्टीका व्यक्ति र विभिन्न संघसँस्थाका पदाधिकारीहरु अतिथिको रुपमा उपस्थित भएका थिए ।

कार्यक्रममा उपस्थितलाई स्वागत गर्दै नेपाल अपाङ्गता नगर समिति रामधुनीकी राधा चौधरीले अपाङ्गता भएका व्यक्तिहरुलाई छुट्याएको बजेट तथा सीपमुलक तालिम कार्यक्रमको समीक्षा नगरिएका कारण अझै पनि कतिपय अपाङ्गता भएका व्यक्तिहरु आफूले सक्ने काम पनि तालिम अभावमा गर्न नपाई घरमै बस्नुपरेको बताइन् । चौधरीले आफूहरुलाई भेला हुन तथा सामान्य बैठक बस्न र कार्यक्रम गर्न एउटा कोठासमेत नभएकाले त्यसको प्रबन्ध गरिदिन नगरपालिकालाई आग्रह गरिन् । कार्यक्रममा सँघ सस्थाको तर्फबाट पुष्प भट्टले मन्तव्य राख्दै आफुहरु सहयोग र सम्वन्वयनमा तयार रहेको बताए ।

pwd 1

कार्यक्रममा बोल्दै करुणा फाउण्डेसन नेपाल सुनसरी मोरङ ब्याच १ की कार्यक्रम अधिकृत दीपिका कटुवालले आफूहरुले रामधुनी नगरपालिकासँग मिलेर अपाङ्गता भएका व्यक्तिहरुको लागि काम गरिरहेको बताइन् । कटुवालले अपाङ्गता भएका व्यक्तिको लागि परिचयपत्रका आधारमा रोजगारमुलक तालिम दिने काम जारी रहेकाले नगरपालिकासँग नजिक हुन अपाङ्गता भएका व्यक्तिहरुलाई आग्रह गरिन् ।

अपाङ्गता भएका व्यक्तिहरुलाई छुट्याएको बजेट र तालिम कार्यक्रमहरुको अनुगमत र समीक्षा गरिने बताउँदै कटुवालले प्रदेश सरकारको सहयोगमा अपाङ्गता भएका व्यक्तिको पुनःउत्थान र रोकथामको लागि करुणा फाउण्डेसन सदैव तयार रहेको बताइन् । कार्यक्रममा विभिन्न वडाका अध्यक्षका साथमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा नगरप्रमुखले आ आफ्नो मन्तव्य व्यक्त गरेका थिए । गोविन्द बिष्टले सञ्चालन गरेको कार्यक्रम डिल्लीराम चौलागाईको सभापतित्वमा सम्पन्न भएको थियो ।