इटहरीः नेपाली काङ्ग्रेस प्रदेश १ को जारी प्रदेश अधिवेशनमा संसदीय दलका नेता राजीव कोइरालाले काङ्ग्रेस गुटको कारण चिराचिरा परेको बताएका छन् । काङ्ग्रेसभित्र टोलदेखि केन्द्रसम्म गुटले चिराचिरा बनाएको भन्दै कोइरालाले आक्रोश जनाएका हुन् ।
शुक्रबार नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनअन्तर्गत विराटनगरमा प्रदेश १ को अधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै कोइरालाले काङ्ग्रेस पार्टी चलाउनेभन्दा पनि नेताहरुले गुट मात्र चलाएको भन्दै आक्रोश पोखेका थिए ।
पार्टीलाई एक ढिक्का बनाउन नसक्ने नेताले ठाउँ खाली गर्नुपर्ने बताउँदै उनले भने, ‘गुटका कारण पार्टी ध्वस्त हुन लागिसक्यो । पार्टी तल्लो तहदेखि नै दुई चिरा भइसकेको छ । मधेसी, दलित, महिला, अल्पसङ्ख्यक सबै दुई चिरामा विभाजित छन् । गुट मात्र चलाउने, पार्टीलाई दुई चिरा बनाउने र पार्टीलाई एकढिक्का बनाउन नचाहनेले अब ठाउँ खाली गरौँ ।’