इटहरीः नेकपा माओवादी केन्द्रको पालिका अधिवेशनअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका कमिटी अध्यक्षमा २९ वर्षीय मनोज राजवंशी सर्वसम्मत चयन भएका छन् ।
यससँगै राजवंशी पार्टीको प्रदेश नम्बर १ भरकै सबैभन्दा कान्छा पालिका अध्यक्ष बन्न सफल भएका छन् । विद्यार्थी कालदेखि नै माओवादी केन्द्रसँग निकट रही राजनीति गर्दै आएका राजवंशी माओवादीको पार्टी सम्मेलन आयोजक कमिटी सदस्य, मोरङ जिल्ला क्षेत्र नम्बर २ सह–संयोजक, कानेपोखरीको संयोजक हुँदै एमाले–माओवादी पार्टी एकतापछि जिल्ला सदस्य र कानेपोखरी गाउँपालिका सचिव बनेका थिए । अधिवेशनले पार्टीको कानेपोखरीको उपाध्यक्षमा तारा ओझा, सचिवमा रोशन खत्री र सहसचिवमा हिमालसिंह थेगिमलाई निर्विरोध चयन गरेको छ ।