इटहरीः झापामा हिजो छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

हिजो दिउँसो ३ः०० बजे बिर्तामोड नगरपालिका ३ स्थित पेट्रोल पम्पआगाडि बिर्तामोडदेखि भद्रपुर जाँदै गरेको मे ५ प १३६५ नम्बरको मोटरसाइकललाई मे१क ७८६ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाईकल चालक बिर्तामोड नगरपालिका ९ का ४३ वर्षीय सम्पत राजवंशी घाइते भई बी एण्ड सी अस्पताल बिर्तामोड पु¥याउनासाथ मृत्यु भएको थियो भने मोटरसाईकल पछाडी सवार रहेकी ३१ वर्षीया शान्ता कार्कीसमेत गम्भीर घाइते भई सोही अस्पतालमा उपचार भइरहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार ट्रक, ट्रक चालक भद्रपुर नगरपालिका १० का ३६ वर्षीय गंगा तामाङ इलाका प्रहरी कार्यालय अनरमनीको नियन्त्रणमा रहेका छन् ।

यसैगरी, हिजो दिउँसो ३ः१५ बजे गौरादह नगरपालिका ७, ग्वालब्बामा बा ८ च ७७३५ नम्बरको माइक्रो भेनले सडकको छेउमा उभिरहेका ३ जनालाई ठक्कर दिई घाइते बनाएको थियो । घाइतेमध्ये सोही स्थान बस्ने २८ वर्षीया सीता साहको दमक अस्पतालमा उपचारको क्रममा बेलुका ४ बजे मृत्यु भएको छ भने घाइते सोही स्थान बस्ने १९ वर्षीया सम्झना ऋषिदेव र ७ महिनाकी आरोसी यादवको सोही अस्पतालमा उपचार भइरहेको छ । माइक्रो भेन, चालक गौरादह ४ का ३० वर्षीय अशोककुमार माक्रा इलाका प्रहरी कार्यालय गौरीगंजको नियन्त्रणमा रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।