ताप्लेजुङः माउन्टेन, कैलाश र सिम्रिक एयरले तीर्थयात्री बोकेर ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमाथि बिहान बिहान फन्को लगाउँदै आएको तीन महिना भएको छ । ती हेलिकोप्टर तीर्थयात्री बोकेर धरान, इलाम र काठमाडौँबाट प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउन थालेका हुन् ।

धरानको भेडेटारबाट दसैँयता ७० उडान भएको छ । यस क्रममा साढे चार सय भक्तजन भेडेटारबाट ताप्लेजुङको पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेको धरान होलिडे ट्राभल एन्ड टुरका बजार प्रबन्धक पविन श्रेष्ठले बताए ।

सदरमुकाम फुङलिङ, पाँचथर, धरान र धनकुटाको भेडेटारबाट पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने तीर्थयात्री यसरी आएको पाभीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए । धरानबाट ३२ हजार रुपैयाँमा यात्रु उडाउने गरेको धरान होलिडे ट्राभल एन्ड टुरका बजार प्रबन्धक श्रेष्ठले बताए । यस वर्ष हेलिकोप्टरमा चढेर पाथीभरा जाने यात्रुको सङ्ख्या उल्लेख्य भए पनि मौसमले साथ नदिएका कारण कम उडान भएको धरान होलिडे ट्राभल एन्ड टुरले जनाएको छ । यात्रुका हिसाबले एकपटकमा पाँच जना बोक्ने हेलिकोप्टरले धरानबाट एउटा उडानमा एक लाख ६० हजार रुपैयाँ आम्दानी गर्ने गरेका छन् ।

हेलिकोप्टरले ताप्लेजुङ सदरमुकाम फुङलिङबाट १० हजार, पाँचथरको फिदिमबाट २२ हजार र इलामको कन्यामबाट ३५ हजार रुपैयाँ भाडा लिने गरेको मेवाखोला हिल रिर्सोटका सञ्चालक सुरेश लिम्बूले बताए । काठमाडौँबाट सीधै आउने यात्रुको सङ्ख्या पनि उल्लेख्य रहेको पाथीभराका पुजारी डिल्ली आचार्यले बताए । तर हेलिकोप्टरबाट कति सङ्ख्यामा तीर्थयात्री आए तथ्याङ्क राख्ने नगरेको क्षेत्र विकास समितिले जनाएको छ । ‘हामीले पैदल हिँडेर जानेको चाहिँ तथ्याङ्क राख्ने गरेका छौँ, हेलिकोप्टरबाट आउनेको छौ,’ काफ्लेले भने ।

दसैँको नौरथा सुरु भएको असोज २१ देखि मङ्सिर १४ सम्म ५५ हजारभन्दा बढीले पाथीभरा दर्शन गरेको समितिले जनाएको छ । दुई वर्षअघि चैतमा एकैदिन १७ हजारले दर्शन गरेको तथ्याङ्क समितिसँग छ ।

पाथीभरामा तीर्थयात्रीले चढाएको रु आठ करोड बैंक मौज्दात रहेको छ । पाथीभरा क्षेत्र विकास समितिमा (सरकारद्वारा गठित समिति) चालू आव २०७८ को असार मसान्तसम्म तीन करोड २७ लाख ३० हजार सात सय ५८ रुपैयाँ बैङ्क मौज्दात छ । पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समितिमा (समुदायस्तरमा गठित समिति) तीन करोड ३३ लाख ३५ हजार दुई सय सात रुपैयाँ छ । सरकारी र समुदायस्तरबाट गठित दुवै समितिको खातामा गरी आठ करोड रुपैयाँ भेटी सङ्कलन बैंक मौज्दात रहेको क्षेत्र विकास समितिले जनाएको छ । -रासस