इटहरीः इटहरी उपमहानगरपालिकामा भोलि शुक्रबारदेखि १५ दिनसम्म मतदाता नामावलीमा दर्ता छुट भएकाहरुको नामावली संकलन कार्यक्रम हुने भएको छ ।

इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले निर्वाचन आयोगले सञ्चालन गर्ने मतदाता नामावली संकलन कार्य भोलि शुक्रबारदेखि पुस २ गतेसम्म व्यवस्थित ढङ्गले सञ्चालन गर्ने निर्णय भएको हो । भोलि मङ्सिर १७ र १८ गते इटहरी वडा नम्वर १०,११,१२ र १३ नम्बरको मतदाता नामावली संकलन हुनेछ । मंसीर १९ र २० गते इटहरी वडा नम्बर ५ र ९को, मङ्सिर २१ र २२ गते वडा नम्बर १,१९ र २० नम्बर वडाको,मङ्सिर २३,२४ र २५ गते वडा नम्बर वडा नम्वर २,३,१५ र १६ वडाको मतदाता नामावली दर्ता गरिनेछ ।

यस्तै मङ्सिर २६ र २७ गते वडा नम्बर १७ र १८ को, मङ्सिर २८ र २९ गते वडा नम्बर ७,८र १४को तथा पुष १ र २ गते वडा नम्बर ४ र ६को नामावली दर्ता गर्ने कार्यक्रम तय भएको उपमहानगरका निर्वाचन सम्पर्क व्यक्ति फाल्गुनीप्रसाद काफ्लेले जानकारी दिए । मतदाता नामावली दर्ता गर्न आउँदा नेपाली नागरिकताको सक्कल प्रमाणपत्र ल्याउनुपर्नेछ । यसैगरी बाह्य जिल्लाबाट बसाइसराइ गरी आएको भए बसाइसराइ प्रमाणपत्र र बाहिर जिल्लाबाट विवाह भई आएको भए विवाह दर्ताको सक्कल प्रमाणपत्र ल्याउनुपर्ने जनाइएको छ । जिल्ला निर्वाचन कार्यालय सुनसरीको परिपत्रअनुसार सबै वडाको मतदाता नामावली संकलन इटहरी उपमहानगरपालिका परिसरबाट हुनेछ । उपमहानगरका प्रमुख चौधरीले मतदाता नामावलीमा कोहि नछुटुन् भन्नका लागि जनप्रतिनिधि, राजनीतिक दल,नागरिक समाजजस्ता सबै सरोकारवालासँग समन्वयका लागि आग्रह गरे ।