इटहरीः आर्थिक वर्षको चार महिनामा सुनसरीको रामधुनी नगरपालिकाले आफ्ना कर्मचारीलाई तलबभत्ता ख्वाउने र सीमित राजश्व संकलनको कामबाहेक अन्य प्रगति गर्न नसकेको विवरण प्रस्तुत गरेको छ ।

बिहीबार नगरपालिकाको प्राङ्गणमा आयोजना गरिएको पहिलो चौमासिकको सार्वजनिक सुनुवाइ कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर ८ का अध्यक्ष रुद्र बस्नेतले नगरपालिकाले काम गरिरहेका कर्मचारीलाई तलब ख्वाएको बताए । नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपाने नगरपालिकाको काम प्रभावित हुनेगरी बिदामा बसेका कारण नगरपालिकाले गर्नुपर्ने आर्थिक काम शुन्य भएको बताइएको छ । समयमा नगरपालिकामा बजेट निकासा नहुँदा नगरपालिकाले सामुदायिक विद्यालयका शिक्षक र नगरपालिकाका कर्मचारीलाई समेत तलबभत्ता ख्वाउन सकेको थिएन । कार्तिक ८ गते नयाँ प्रशासकीय अधिकृत पाएको नगरपालिकाले अहिले सम्मको प्रमुख काम कर्मचारीको तलबभत्ता निकासा मात्र गर्न सकेको छ ।

पहिलो चौमासिकसम्म विकास निर्माणतर्फ एउटा पनि बजेट निकासा नभएको बताइएको छ । कर्मचारी व्यवस्थापनकै विवादका कारण सरुवा मागेर बिदा भएका प्रमुख प्रशासकीय अधिकृत न्यौपानेपछि आएका प्रशासकीय अधिकृत कमलबहादुर थापाले ७५ प्रतिशत कर्मचारी व्यवस्थापनको काम सकिएको र बाँकी नगरपालिकाको विशेष नगर अधिवेशन बोलाएर टुङ्गो लगाउने बताएका छन् ।

नगरपालिकाको ४ महिनाको प्रगति सुनाउँदै प्रशासकीय अधिकृत थापाले नगरपालिकाले २४ लाख रुपैयाँ बराबरको राजश्व संकलन गरेको बताए । उठेकोमध्ये बढी राजश्व घरनक्सा पासबाट प्राप्त भएको छ । बालमैत्री स्थानीय शासनको अवधारणाअनुसार बालमैत्री नगरपालिकाको रुपमा गत भदौ २९ गते घोषणा भएको रामधुनी नगरपालिका अहिले त्यतिबेला भएको खर्चको ऋण तिर्ने क्रममा रहेको बताइएको छ ।