इटहरीः झापाको भद्रपुर नगरपालिका ४ स्थित भानु चौकबाट सिक्री लुटेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पर्साको वीरगन्ज महानगरपालिका–३२ का ३२ वर्षीय रङ्गलाल राय र १९ का ३२ वर्षीय श्म्भु राय यादव रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार बुधबार साँझ बजारमा किनमेल गर्न गएकी भद्रपुर नगरपालिका– ४ डाँगीबारीकी ३३ वर्षीया सुनिता राजवंशीको डेढ तोला सुनको सिक्री लुटेर भाग्दै गरेको अवस्थामा वडा प्रहरी कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । अभियुक्तहरुले भने लुटपाटको आरोप अस्वीकार गरेको एसपी राईको भनाइ छ ।

उनका अनुसार लुटिएको सिक्री पनि प्रहरीले उनीहरुका साथबाट फेला पार्न सकेको छैन । अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालय चन्द्रगढीको हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको बताउँदै प्रहरीले घटनामा संलग्न अर्का एक अभियुक्त फरार रहेकाले उनको खोजी जारी रहेको जनाएको छ ।