काकडभिट्टाः काम प्रतिको लगाव गजबको हुन्छ कसैकसैको । बजारमा चिनिन अनि कहलिन सबैले फरक काम गर्नुपर्छ भन्ने छैन ।  एउटै कामलाई फरक तरिकाले पनि गर्न सकिन्छ । हो, त्यसैको उदाहरण हुन् झापाका सुमित प्रसाई र उदयपुरको रामपुरका मोदनाथ पौड्याल । सुमितको सोचाइमा अहिले झापाको बिर्तामोडमा हर्ष एण्ड बग्गी रेस्ट्रो नामको रेस्टुरेन्ट तयार भएको छ ।

IMG_8812

हर्ष एण्ड बग्गी रेस्ट्रो नामको यो रेस्टुरेन्ट अरु रेस्टुरेन्टजस्तै साधारण रेस्टुरेन्ट हो । तर उनीहरुको योजना अर्थात् ‘कन्सेप्ट’ भने अरुभन्दा धेरै फरक छ । स्वभाविक रुपमा मङ्सिर महिना एक विशेष महिना हो दाम्पत्य जीवनमा बाँधिनेहरुका लागि । विवाह एक नियमित प्रक्रिया पनि हो व्यक्तिको जीवनमा, अनि एउटा संयोग, दुई मुटुको एकीकरण र जीन्दगीकै एउटा नबिर्सने र नमेटिने अद्भुत क्षण हो विवाह ।

IMG_8808

यस्तो क्षणलाई स्मरणीय बनाउने चाहना कसको हुँदैन र ? हो त्यही महत्वपूर्ण क्षणलाई स्मरणीय बनाउन सुमित र मोदनाथले घोडा सहितको रथ तयार गरेका छन् । हुन त विवाहमा घोडासहित बेहुलालाने र बेहुलीलाई डोलीमा हालेर ल्याउने परम्परा पुरानो हो । तर त्यो पुरानो परम्परा पनि बिस्तारै मासिँदै गएको समयमा मामा भान्जाको कन्सेप्टमा तयार भएको यो रथ अर्थात् बग्गी आकर्षक हुने विश्वास गरिएको छ ।

IMG_8813

झापा जिल्लाको मेचीनगर नगरपालिका बाहुनडाँगीमा पर्यटन अभियन्ता अर्जुन कार्कीका छोरा आदित्य कार्कीको विवाहमा सुमित र मोदनाथले सोही रथ लिएर आएका थिए । झापाको स्थानीय पर्यटनमा नयाँ सुरुवात भएकोमा अर्जुन कार्कीले खुसी व्यक्त गरे । रथको निर्माण गर्ने सुमित र मोदनाथ नाताले मामा भान्जा रहेछन् । नेपाल प्रहरीमा खाएको जागिर छाडेर हेमाया सेक्युरिटिअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) मा २ वर्ष दुबई पुलिसमा समेत जागिर खाएका सुमितले घोडा र रथको बारेमा युएईमै अनुभव लिएका रहेछन् । आफ्नै देशमा एउटा सुनौलो काम किन नगर्ने भन्ने सोचाइका साथ आफूले नयाँ सोच लिएर हर्ष एण्ड बग्गी रेस्ट्रोको सपना देखेको सुमितले बताए । दुबईमा देखेको घोडाको रचनात्मक प्रयागले सुमितलाई व्यावसायिक रुपमा गर्न सके पैसा कमाउन पनि सकिन्छ भन्ने सपना देखाएको रहेछ ।

IMG_8806

हुन त उनको पहिलो सपना घोडा चढ्ने मात्र थियो, तर पछि व्यावसायिक रुपमै काम गर्न मन लाग्यो । त्यही भएर उनले बग्गीको संरचना तयार गरे । बग्गीको बेल्डिङ्ग बाहेकको डिजाइन मामा भान्जाले आफँै गरेका रहेछन् । आफूलाई एउटा बग्गी निर्माण गर्न २ लाखको हाराहारी खर्च लागेको सुमितले हामीलाई बताए । यही मङ्सिर महिनाको ४ गतेबाट यो जोडीले घोडा सहितको रथ सुरु गरेको रहेछ ।

IMG_8811

 

सुरुवातको १० दिनमै यो बग्गीले राम्रो व्यावसायिक यात्रा तय गरिसकेको सुमित बताउँछन् । उनीहरुले सुरु गर्नुभन्दा पहिले विवाह गर्नेहरुको रहर पनि अब पूरा हुने भएको छ । उनीहरुले सुरु गर्नुअघि यहाँ यस्तो रथ थिएन । न त चाहेर पनि एक पटक चढौँ भन्ने रहर नै पूरा हुन्थ्यो । तर अहिले त्यो सपना यीनै मामा भान्जाले पूरा गर्न लागेका छन् ।

IMG_8807

 

बिर्तामोडको रामचोकमा रहेको हर्स एण्ड बग्गी रेस्ट्रोमा गएर दुई तीन सयको टिकट काटेर घोडा सहितको रथारोहणको रहर पूरा गर्न सकिन्छ । कम्तिमा ३ वटा रथ राख्ने योजना रहेको सुमितले हामीलाई सुनाए । ड्राइभिङ्ग स्कुलका सञ्चालकसमेत रहेका सुमितले अहिले अर्को रथ तयार गरिरहेका रहेछन् । पर्यटनको क्षेत्रमा राम्रो आकर्षण बन्न सक्ने सम्भावना बोकेको यो रथले आन्तरिक मात्र नभएर बाह्य पर्यटकलाई पनि आकर्षित गर्ने पक्का छ ।