इटहरीः नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत मोरङमा सम्पन्न जिल्ला अधिवेशनमा जिल्ला सचिव पदमा दुई स्थानीय तहका मेयरहरुले पराजय व्यहोरेका छन् ।
सचिव पदको प्रतिस्पर्धामा हार्ने प्रत्यासीहरुमा रतुवामाई नगरपालिकाका मेयर रविन राई र सुन्दरहरैँचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल रहेका छन् । १४औँ जिल्ला अधिवेशनमा सँस्थापनइतर पक्षका डिगबहादुर लिम्बू सभापतिमा निर्वाचित भएका थिए । निर्वाचनमा सँस्थापन र सँस्थापनइतर दुवै पक्षका उमेद्वारले पराजय व्यहोरेका हुन् । सँस्थापन पक्षबाट उठेका सुन्दरहरैँचा नगरपालिकाका मेयर ढकालले एक हजार ८४ मत प्राप्त गरे । संस्थापनइतर पक्षबाट उठेका रतुवामाई नगरपालिकाका मेयर राईले चार सय ५५ मत प्राप्त गरे । जिल्ला सचिवमा सँस्थापनइतर पक्षबाट मोदराज घिमिरे र ललितबहादुर श्रेष्ठ निर्वाचित भए ।
घिमिरेले एक हजार दुई सय ३५ मत प्राप्त गरे । श्रेष्ठले एक हजार पाँच सय ६९ मत प्राप्त गरे । जिल्लाको उपाध्यक्षमा सँस्थापनइतर पक्षबाट नागेश कोइराला र भक्तिनाथ माझी थारू निर्वाचित भए । कोइरालाले एक हजार नौ सय ४० मत पाएका थिए । थारूले एक हजार तीन सय ४३ मत प्राप्त गरे । सहसचिवमा भुवनेश्र मण्डल र सञ्जयकुमार मण्डल निर्वाचित भएका छन् ।