इटहरीः ३४औ विश्व एडस दिवसका अवसरमा इटहरीमा न्यून आय भएका एचआईभी संक्रमितहरुलाई खाद्यान्न तथा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
विभिन्न सरोकारवाला सँस्था सँगको समन्वयमा इटहरी उपमहानगरपालिकाले आयोजना गरेको कार्यक्रममा ती सामग्री वितरण गरिएको हो । इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले १५ जनालाई खाद्यान्न सामग्री र व्यक्तिगत सरसफाइका लागि प्रयोग गरिने हाइजेनिक किट प्रदान गरे । कार्यक्रममा छ जना संक्रमित बालबालिकालाई झोला, कापी, ज्यामिति बक्स र कलम वितरण गरियो । प्रयास महिला समूहले खाद्यान्न र उपमहानगरले बालबालिकालाई शैक्षिक समग्री र आम्दा नेपालले हाइजेनिक किट उपलब्ध गराएको इटहरी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख घनश्याम सिग्देलले जानकारी दिए ।
कार्यक्रमअघि इटहरी उपमहानगरपालिकाबाट सुरु भएको र्याली इटहरी चौक परिक्रमा गरी उपमहानगर परिसरमै आइपुगेको थियो । त्यहाँ भएको कार्यक्रमलाई सम्बोधन गर्दै इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद सुवेदीले एचआईभी एड्स नियन्त्रणका लागि सबैको सहकार्य अपरिहार्य रहेकोमा जोड दिए । यसैबीच, संक्रमित भई मृत्यु भएकाहरुको सम्झना र मृत आत्माको शान्तिको कामना गर्दै साँझ मुख्य चौकमा दीप प्रज्वलन गरिएको छ ।