इटहरीः मोरङको सुन्दरहरैँचा नगरपालिका क्षेत्रमा नयाँ शैलीको ठगी धन्धा सुरु भएको खुलासा भएको छ ।

सुन्दरहरैँचा नगरपालिका ११ का भाँडा पसल सञ्चालक नितेश निरौलाको पसलबाट गत शनिबार दिउँसो एक अपरिचित व्यक्तिले आफू शिक्षक भएको बताउँदै स्थानीय विद्यालयमा आयोजित कार्यक्रमका लागि आवश्यक भएको भन्दै उधारोको नाममा ठगी गरेका हुन् । आफू स्थानीय महेन्द्र माध्यमिक विद्यालयमा शिक्षकका रुपमा कार्यरत रहेको बताउँदै कोट सुटसहित मास्क लगाएका एक व्यक्तिले विद्यालयका नाममा आफ्नो पसलबाट १२ हजार तीन सय रुपैयाँ बराबरको सामान लिएर गएको तर आफूले विद्यालयका प्रधानाध्यापकलाई सोध्दा विद्यालयमा त्यस्तो कुनै कार्यक्रम नै आयोजना नगरिएको र विद्यालयका कुनै पनि शिक्षकलाई पसलबाट सामान ल्याउन नपठाइएको जवाफ पाएपछि आफू ठगिएको थाहा पाएको पीडित व्यवसायी निरौलाको भनाइ छ ।

आफू कार्यालयको काममा गएका बखत आएका ती अपरिचित व्यक्तिले आफ्नी श्रीमतीलाई एक्लै पसलमा देखेर ठगी गरेको उनले बताए । शनिबार आफू ठगिएकोमा आइतबार त्यस्तै प्रकृतिको घटना मोरङकै खोर्सानेमा पनि भएको हल्ला चलेकाले आफूले यसबारे प्रहरीलाई जानकारी दिने तयारी गरेको उनको भनाइ छ ।

ss