इटहरी: प्रा.डा. बद्रीविशाल पोख्रेलले इटहरी उपमहानगरपािलकाको विज्ञ सल्लाहकारको पदबाट राजीनामा गरेका छन् ।

इटहरीका स्रष्टाहरुले भाषा, कला, साहित्य र संस्कृतिका विषयमा संविधानतः गर्नुपर्ने काममा बेवास्ता गरेका कारण आफूले पदबाट राजीनमा दिएको डा. पोख्रेलले बताएका छन् । उनले मङ्गलबार उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीसमक्ष आफ्नो राजीनामा बुझाएका हुन् ।

पोखरेलले इटहरी आसपासका स्थानीय तहले भाषा, कला र साहित्यका क्षेत्रमा प्रतिष्ठान नै गठन गरी संरक्षणका लागि काम गर्ने योना बनाएपनि हालसम्म कुनैपनि काम हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे । भाषा, कला, साहित्यजस्ता क्षेत्रको उत्थानका लागि सँस्था गठन गरी कृयाशील बनाउने योजना नगर सरकारको बजेटमा समावेस भएपनि हालसम्म कुनै काम भने हुन नसकेको उनको कथन छ ।

इटहरीको स्रष्टा समाजले दिएका लिखित माग र आलोचनात्मक सुझावलाई निर्वाचित जनप्रतिनिधिले बेवास्ता गरेको डा. पोख्रेलले उल्लेख गरेका छन् । उनले भने, ‘आफैँले घोषणा गरेको र कबुल गरेका कामहरु अलिकति पनि पटक्क गरिएन, नगरपालिकामा स्वं धरणीधर दाहालले स्थापना गरेको पुस्तकालयमा एउटा पनि पुस्तक किनिएन, कोरोनाको बहाना बनाएर कुनै काम भएन ।’

इटहरी उपमहानगरपालि कामा सञ्चालनमा रहेको पुस्तकालयबाट उपमेयर लक्ष्मी गौतमको निर्देशनमा विभिन्न संघसँस्थालाई सोझै पुस्तक बाँड्ने परिपाटीका कारण पुस्तकालय पुस्तकविहीन बन्न लागेकोबारे इटहरीका सर्जकहरुले ध्यानाकर्षण गराएका थिए ।

तर विद्युतीय पुस्तकालयमा स्तरोन्नति गर्ने योजना बजेटमा समावेस भएपनि कार्यान्वनय नभएको, उपमहानगरपालिकाले साहित्यिक चिन्तनभन्दा गैरसाहित्यिक गतिविधिलाई बढी प्रश्रय दिएको जस्ता कारणले राजीनामा गरेको डा. पोख्रेलको राजीनामापत्रमा उल्लेख छ ।