इटहरीः सङ्खुवासभाको पाँचखपन नगरपालिका वडा नम्बर ५, खमारेबाट प्रहरीले एक जनालाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ घर भएका ५६ वर्षीय रामबहादुर राई रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार जिल्ला प्रहरी कार्यालयको टोलीले उनलाई मङ्गलबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा राईको घरमा खानतलासी गर्ने क्रममा गोठमा परालले छोपेर लुकाई राखेको अवस्थामा एक थान भरुवा बन्दुक फेला परेको एसपी राईको भनाइ छ । अभियुक्त राईलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।