धनकुटाः धनकुटाको महालक्ष्मी नगरपालिकाले पशुपालक कृषकहरुलाई मोटरसहितको च्यापकटर वितरण गरेको छ ।

नगर क्षेत्रका १४० पशुपालक कृषकहरुलाई ५० प्रतिशत अनुदानमा च्यापकटर वितरण गरिएको हो । विद्युतका माध्यमबाट चल्ने सो चापकटर गाईवस्तुलाई दिइने घाँस टुक्राउन उपयोगी मानिन्छ । नगरपालिकामा मंगलबार औपचारिक कार्यक्रम गरेर कृषकहरुलाई च्यापकटर हस्तान्तरण गरिएको छ । कार्यक्रममा छुटेकाहरुलाई केही दिनभित्रै वितरण गरिने नगरपालिकाले जनाएको छ । कृषकहरुलाई पशुपालनमा प्रोत्साहन र सहजीकरण गर्न नगरपालिकाले अनुदानमा च्यापकटर प्रदान गरेको नगरप्रमुख पर्शुराम नेपालले बताए । कृषि पेशालाई समय अनकुल यन्त्र उपकरणको प्रयोगबाट सहज र सरल बनाउँन नगरपालिकाले सहयोग गर्दै आएको भन्दै नगर प्रमुख नेपालले आगामी दिनमा पनि कृषकहरुलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

Samagri_Pradan-Photo

 

कार्यक्रममा नगरपालिकाका उप–प्रमुख मञ्जु अधिकारी, वडा नं.१ का वडाध्यक्ष टेकबहादुर गुरुङ्ग लगायतले च्यापकटरको प्रयोगबाट कृषकहरुलाई निकै सहज हुँने विश्वास व्यक्त गरे । सो अवसरमा च्यापकटरका बारेमा जानकारी दिदै, प्रयोग गर्ने तरिका पनि कृषकहरुलाई जानकारी गराइएको छ । च्यापकटरबाट घाँस काट्न छिटो, छरितो र सरल हुँने भएकाले निकै उपयोगी हुँने कृषकहरु बताउँछन् । सो च्यापकटरको बजार मूल्य प्रतिगोटा करिब ३५ हजार छ । नगरपालिकाले लाखौं रकम खर्चेर कृषकहरुलाई अनुदानमा च्यापकटर दिएको हो । महालक्ष्मी नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर कृषकहरुलाई सहयोग गर्दै आएको छ ।

Samagri_Pradan-Photo2 Samagri_Pradan-Photo1