इटहरीः नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत मोरङमा भएको मतदानबाट शेखर कोइराला खेमाका डिगबहादुर लिम्बू मोरङ जिल्ला सभापति चयन भएका छन् ।

हिजो सम्पन्न मतगणनाको परिणामबाट जिल्ला सभापति बनेका लिम्बूले सँस्थापन पक्ष अर्थात् सभापति शेरबहादुर देउवा खेमाका प्रत्यासी दिलिप गच्छदारलाई पराजित गरेका हुन् । आइतबार भएको निर्वाचनमा तीन उम्मेद्वारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि मंगलबार निर्वाचन भएको थियो । निर्वाचनमा खसेका कुल तीन हजार ३६० मतमध्ये लिम्बूले एक हजार ९०६ मत प्राप्त गरी सभापति निर्वाचित भए भने गच्छदारले एक हजार ४२२ मत प्राप्त गरी पराजित भए ।

कोइराला पक्षमा रहेका प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले डाक्टर कोइरालाविरुद्ध भएको मोर्चाबन्दी तोडिएको बताए । मतदाताले विवेक पु¥याएर मतदान गरेको उनको भनाइ छ । आइतबार सम्पन्न भएको निर्वाचनमा तीन हजार ४१३ मत खसेको थियो । पहिलो निर्वाचनमा लिम्बूले एक हजार ५४४ मत पाएका थिए । गच्छदारले एक हजार १६६ मत र यदुकुमार विष्टले ५६३ मत पाएका थिए ।