इटहरीः नेपाली कांग्रेसको सोलुखुम्बु जिल्ला सभापतिमा नाम्गेल जाङ्बु शेर्पा निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी बहालवाला पार्टी सभापति विनोद बस्नेतलाई पराजित गरी उनी सभापति बनेका हुन् ।

मंगलबार सम्पन्न दोस्रो चरणको निर्वाचनमा संस्थापन पक्षबाट प्रतिस्पर्धामा उत्रिएका शेर्पा पाँच सय १३ मत ल्याएर सभापति बनेका हुन् । निर्वाचनमा खसेको कुल आठ सय ९७ मतमध्ये शेर्पाका प्रतिद्वन्द्वी बस्नेतले ३७१ मत पाएको जिल्ला निर्वाचन समितिले जनाएको छ । शेर्पा संस्थापन समूह निकट हुन् भने बस्नेतलाई केन्द्रीय सदस्य बलबहादुर केसीको समर्थन थियो ।

पहिलो चरणमा सभापतिका तीन उम्मेदवार रहेकोमा कसैको पनि बहुमत नआएपछि मंगलबार दोस्रो चरणको मतदान भएको थियो । पहिलो चरणमा बस्नेतले ४२८ मत पाएका थिए भने शेर्पाले ४१८ मत प्राप्त गरेका थिए ।

सभापतिबाहेक बाँकी कार्यसमिति भने पहिलो चरणकै निर्वाचनबाट टुंगो लागेको थियो । उपसभापतिमा घनराज सुनुवार र फुर्दाेजी शेर्पा विजयी भएका छन् भने सचिवमा भलाकाजी राई कुलुङ र युवराज घिमिरे निर्वाचित भए । सहसचिवमा उत्रमान राई र ङमिाछिरी लामा विजयी भएको निर्वाचन समितिले जनाएको छ ।