इटहरीः प्रदेश १ मा सरकार परिवर्तन भएसँगै मुख्य न्यायाधिवक्ता पनि परिवर्तन गरिएको छ ।
नयाँ मुख्य न्यायाधिवक्ताका रुपमा मुख्यमन्त्री राजेन्द्र राईका विश्वासपात्र अधिवक्ता भोजराज श्रेष्ठ नियुक्त भएका छन् । नियुक्त भएलगत्तै उनले प्रदेश १ को प्रदेशप्रमुखको कार्यालयमा आयोजित एक समारोहका बीच उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । नेकपा (एकीकृत समाजवादी) निकट बुद्धिजीवी परिषद् मोरङ अध्यक्षसमेत रहेका नवनियुक्त मुख्य न्यायाधिवक्ता पोख्रेल विराटनगरकै बासिन्दा हुन् ।
शेरधन राई नेतृत्वको अघिल्लो सरकारका मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यले कात्तिक १७ मा राजीनामा दिएका थिए । उनको स्थानमा पोख्रेलको नियुक्ति भएको हो । मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको प्रमुख कानूनी सल्लाहकार हुने हुँदा सरकार परिवर्तन भएपछि मुख्य न्यायाधिवक्ताले राजीनामा दिई मार्गप्रशस्त गर्ने प्रचलन छ । नेपालको संविधानको धारा १६० मा मुख्य न्यायाधिवक्तासम्बन्धी व्यवस्था छ ।
जहाँ लेखिएको छः १६०. मुख्य न्यायाधिवक्ता ः (१) महान्यायाधिवक्ताको मातहतमा रहने गरी प्रत्येक प्रदेशमा एक मुख्य न्यायाधिवक्ता रहनेछ । (२) मुख्य न्यायाधिवक्ताको नियुक्ति सम्बन्धित मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखबाट हुनेछ । मुख्यमन्त्रीले चाहेको अवधिसम्म मुख्य न्यायाधिवक्ता आफ्नो पदमा बहाल रहनेछ ।