खोटाङः खोटाङको केपिलासगढी गाउँपालिकाले आफ्नै भवन प्रयोगमा ल्याएको छ । गाउँपालिकाले नवनिर्मित भवनबाट सेवा प्रवाह पनि सुरु गरेको छ ।
गाउँपालिकाको एक करोड ७६ लाख ५४ हजार रूपैयाँको लागतमा तीनतले भवन निर्माण गरिएको हो । सभाहलसहितको नवनिर्मित प्रशासनिक भवनमा स्वास्थ्य, कृषि र पशु शाखाबाहेक सबै विषयगत शाखा र उपशाखा छन् ।
गाउँपालिकाले आर्थिक वर्ष २०७५÷०७६ देखि बहुवर्षीय योजना बनाएर भवन निर्माण गरेको प्रमुख प्रशासकीयक अधिकृत छवि राईले जानकारी दिए । बाक्सिला बजारमा केपिलासगढी गाउँपालिकाको केन्द्र स्थापना भएको पाँच वर्षसम्म तत्कालीन बाक्सिला गाविस र पृथ्वी माविको जीर्ण भवनबाट सेवा प्रवाह हुँदै आएको थियो ।
चार वर्षमा निर्माण गरिएको सो भवनको गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राई र उपाध्यक्ष हीराकुमारी वन (गिरी) ले संयुक्तरूपमा उद्घाटन गरेका छन् । १० स्थानीय तह रहेको जिल्लामा यसअघि सात स्थानीय तहले आफ्नै प्रशासनिक भवन निर्माण सम्पन्न गरेका छन् ।
बराहपोखरी, जन्तेढुङ्गा, खोटेहाङ, दिप्रुङ चुइचुम्मा र रावाबेँसी गाउँपालिका तथा दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिकाले आफ्नो भवन निर्माण गरिसकेका छन् । साकेला र ऐसेलुखर्क गाउँपलिकाले नयाँ भवन निर्माण गरिरहेका छन् । -रासस