इटहरीः चितवनमा जारी नेकपा एमालेको १० औँ महाधिवेशनले केपी शर्मा ओलीलाई नै अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित गरेको छ ।

नेताद्वय भीम रावल र ओलीबीच भएको प्रतिस्पर्धामा ओलीले एक हजार आठ सय आठ मतका साथ अध्यक्षको स्थान सुरक्षित गरेका हुन् । उनका एक मात्र प्रतिद्वन्द्वी भीम रावलले दुई सय १३ मत प्राप्त गरेको निर्वाचन कमल पाठकले जानकारी दिए । उनका अनुसार दुई हजार एक सय ५३ प्रतिनिधि उपस्थित रहेको निर्वाचनमा दुई हजार ९६ मत खसेको थियो ।

खसेको मतमध्ये एक हजार आठ सय आठ मत ल्याई अध्यक्षमा दोहोरिएका ओलीले आफ्ना एक मात्र प्रतिद्वन्द्वी रावललाई एक हजार पाँच सय ९५ मतको अन्तरले पराजित गरेका हुन् । अन्य पदमा भएको मतदानको नतिजा आउने क्रममा रहेको निर्वाचन अधिकृत पाठकको भनाइ छ ।