इटहरीः झापाको दमकबाट प्रहरीले सात जना जुवाडेलाई हिजो नगदसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सो होटलका सञ्चालक पवन लिम्बु, भक्तिश्वर देवान, प्रमोद लिम्बु, रमेश महतो, बबिन सुब्बा आङदेम्बे, रूपचन्द्र राई र राजकुमार श्रेष्ठ रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार प्रहरीले उनीहरुलाई सोमबार अपराहन्न दमक–६ फाल्गुनन्द चोकस्थित परदेशी होटलबाट पक्राउ गरेको हो ।
उनीहरूको साथबाट एक लाख ५७ हजार रूपैयाँ बरामद भएको प्रवक्ता राईले बताए । पक्राउ परेका अभियुक्तहरुलाई इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखी जुवा ऐनअन्तर्गत कारबाहीका लागि अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।