इटहरीः पैदलयात्रीलाई ठक्कर दिई फरार रहेका बस चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुरको भक्तपुर नगरपालिका ३ घर भएका ३१ वर्षीय ज्ञानबहादुर खत्री रहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । मङ्सिर ५ गते राति ११ः५९ बजे मोरङको सुन्दरहरैँचा नगरपालिका ८, सलकपुरस्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ गइरहेको ९६६८ नम्बरको बसले सुन्दरहरैँचा नगरपालिका ११, भुटाइ टोल बस्ने ५८ वर्षीय बलराम माझीलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका माझीलाई उपचारार्थ सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा चिकित्सकले तत्कालै मृत घोषित गरेका थिए ।

सोही बसका चालक रहेका खत्री दुर्घटनालगत्तै फरार भएकोमा इप्रका बेलबारीको टोलीले उनलाई आज इटहरीबाट पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्त खत्रीउपर सवारी ज्यान मुद्दामा कारबाहीका हिरासतमा राखिएको बताउँदै प्रहरीले भोलि अदालतमा पेस गरी म्याद थप गराउने जानकारी दिएको छ ।

ct mart add.