इटहरीः इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमसहित सुनसरीबाट ६ जना नेकपा एमालेको केन्द्रीय सदस्यको सूचीमा समावेस भएका छन् ।
चितवनमा जारी पार्टीको १० औँ महाधिवेशनबाट उपमेयर गौतमका अतिरिक्त सुनसरीबाट सदस्यको सूचीमा पर्नेहरुमा प्रदेश १ का पूर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश कुशियैत, जिल्लाको दक्षिणवर्ती क्षेत्रका नेता तैयब हुसेन, संघीय सरकारकी पूर्व वन मन्त्री भगवति चौधरी, धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी (सुवेदी) र महिला बचत सहकारी सँस्था इटहरीकी अध्यक्ष अमृता सुब्बा रहेका छन् । इटहरीकी उपमेयर गौतम खुला महिला कोटाबाट सूचीकृत भएकी हुन् भने पूर्वमन्त्री कुसियैत मधेसी कोटाबाट परेका हुन् ।
उनी शेरधन राई नेतृत्वको सरकारमा प्रदेशका पर्यटनमन्त्री बनेका थिए । यसैगरी, हुसेन मुस्लिम कोटाबाट समावेस भएका हुन् भने पूर्व संघीय वन मन्त्री चौधरी खुला महिला कोटामा समावेस भएकी हुन् । सुनसरी क्षेत्र नम्बर २ बाट दुई पटक निर्वाचनमा विजय गच्छदारसँग पराजित भएकी चौधरी देशैभर शाखा रहेको फरवार्ड माइक्रोफाइनान्सकी अध्यक्ष हुन् ।
धरानकी उपमेयर भण्डारी १ नम्बर प्रदेशको महिला कोटाबाट सूचीकृत भएकी हुन् । यसैगरी अमृता सुब्बा जनजाति महिला कोटाबाट सूचीकृत भएकी हुन् । महिला बचत सहकारी इटहरीकी अध्यक्ष रहेकी सुब्बा सहकारीको साझा संस्था नेप्सुनको केन्द्रीय नेतृवमा पनि पुगेकी छन् । सुब्बा १ नम्बर प्रदेशसभा सदस्य सर्वध्वज साँवाकी जीवनसंगीनीसमेत हुन् ।
इटहरीका मेयर द्वारिकलाल चौधरीलाई पनि केन्दीय सदस्य बनाउन खोजिएकोमा उनी भने सूचीमा समावेस हुन सकेनन् । उमेद्वारी दिएका चौधरीका पक्षमा कार्यकर्ताले प्रचार गरेपनि उनी केन्द्रीय सदस्यमा पर्न असफल भएका हुन् ।
यसैगरी, सुनसरी क्षेत्र नम्बर १ का संघीय सांसद जयकुमार राई, मजदुर नेताद्वय मोतिराज सुनुवार र भीम राई (ज्वाला) र दलित नेता डीबी साह शंकर पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गरेको लिस्टमा परेनन् ।
१० प्रतिशत सदस्य मनोनित गर्ने व्यवस्था भएकाले सुनसरीका केही अनुहार पर्न सक्ने सम्भावना भने अझै रहेको नेताहरु बताउँछन् ।