इटहरीः सुनसरीको रामधुनी नगरपालिका–६ स्थित कान्छी चोक–चतरा पक्की सडकखण्डामा गएराति भएको ट्याक्टर दुर्घटनामा परी सहचालकको मृत्यु भएको छ ।

रड लोड गरेर कान्छी चोकबाट कालाबञ्जारतर्फ जाँदै गरेको को २ त ६४८७ नम्बरको ट्याक्टर राति ८ः२० बजेतिर दुर्घटना हुँदा सह–चालक सुनसरी चक्रघट्टीका अन्दाजी २२ वर्षीय मुकेश मलाहको मृत्यु भएको प्रहरीले १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार दुर्घटनापछि गम्भीर घाइते भएका मलाहलाई उपचारार्थ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारका क्रममा राति करिब ११ः३० बजे उनको मृत्यु भएको हो ।

दुर्घटनापछि ट्याक्टर चालक सुनसरीको बराह–८ का २३ वर्षीय साने उराउ फरार रहेकाले उनको खोजी भइरहेको डीएसपी तिम्सिनाको भनाइ छ । दुर्घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।