इटहरीः नेकपा माओवादी केन्द्रको इटहरी नगर सम्मेलन हिजो सुरु भएको छ । एभरेस्ट पार्टी प्यालेसमा जारी सम्मेलनमा हिजो उद्घाटन सत्र सम्पन्न भई आजदेखि बन्दसत्र जारी रहेको छ ।

८१ सदस्यीय नगर कमिटी चयनका लागि नगर भित्रका सबै २० वडाबाट जम्मा चार सय ५० प्रतिनिधि सम्मेलनमा सहभागी छन् । सम्मेलनका अवसरमा हिजो कम्युनिस्ट आन्दोलनमा योगदान पुर्याउने ज्येष्ठ नागरिक, बेपत्ता पारिएका व्यक्तिका परिवारजन, जनमुक्ति सेनाका पूर्वलडाकु तथा सशस्त्र संघर्षका घाइतेहरुलाई सम्मान गरिएको पार्टीका सुनसरी जिल्ला सदस्य तथा इटहरी नगर सचिव कविन्द्र केसीले जानकारी दिए । उनका अनुसार खगेन्द्रप्रसाद निरौला, ललितबहादुर केसीलगायत आठ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । यसैगरी, अनिता, थापा, हिमाल राई लगायत ७ जना घाइतेहरु सम्मानित भएका थिए । उनका अनुसार सोही अवसरमा एक सय ३५ जना नवप्रवेशी युवाहरुलाई पार्टी प्रवेशसमेत गराइएको थियो ।

खम्बुवान मुक्ति मोर्चाका संघीय अध्यक्ष राजन किराँतीसमेत नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको केसीले बताए । नगर कमिटि चयनका विषयमा सहमति जुट्न नसकेको बताउँदै उनले निर्वाचन प्रकृयाबाटै टुङ्गोमा पुग्नुपर्ने अवस्था आउनसक्ने उल्लेख गरे । पार्टीका इटहरी नगर अध्यक्ष बहादुरसिंह तामाङ (ज्वाला) को सभापतित्वमा जारी सम्मेलनमा नवप्रवेशी नेता राजन किराँती, अन्य नेताहरु विष्णु थारु, शिव डाँगी, मदन चुडाल, जनमुक्ति सेनाका तत्कालीन भाइस कमाण्डर प्रदीप श्रेष्ठ, तत्कालीन ब्रिगेड कमाण्डर गणेश श्रेष्ठ, लगायतका नेताहरुले बोलेका थिए । नगर सचिवालय सदस्य हेमसागर तिम्सिनाले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गरेका थिए । यसैबीच, सम्मेलनलाई पार्टीका संघीय अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पनि भर्चुअल सम्बोधन गरेका थिए ।