इटहरीः झापाको कन्काई नगरपालिका ८ स्थित पुर्व पश्चिम राजमार्गको बिरिङ्ग पुलमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।
आज दउँसो १२ः३० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस अनियन्त्रित भई पुलको रेलिङ्गमा ठोक्किएर दुर्घटना हुँदा १ जनाको मृत्यु र २२ जना घाइते भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) नवीनराज राईका अनुसार दुर्घटनामा घाइते भएकाहरुलाई उपचारको लागि अस्पताल पठाइएकोमा उपचारको क्रममा कन्काई नगरपालिका ७ का १६ वर्षीय उत्सव पौडेलको मृत्यु भएको हो ।
अन्य घाइतेहरुमध्ये ११ जनाको बी एण्ड सी। अस्पताल र ११ जनाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।